• १६ पुस २०८१, मङ्गलबार

अठार वर्षदेखि न्यायको खोजीमा द्वन्द्वपीडित

blog

प्रेमराज सिम्खडा

कालीकोट, साउन ११ गते । सशस्त्र द्वन्द्वपछि शान्ति स्थापना भएको करिब १८ वर्ष भइसकेको छ । यतिका वर्ष पुग्दा पनि कालीकोटका द्वन्द्वपीडितले राहत नपाएको गुनासो गरिरहेका छन् । न्यायको मागसँगै राहतको खोजीका लागि द्वन्द्वपीडित जिल्ला प्रशासन कार्यालय धाउन थालेको निकै समय बितिसकेको छ । खाँडाचक्र नगरपालिका–३, सियालवाडाका ४८ वर्षीय चक्रबहादुर शाहीलाई तत्कालीन विद्रोही माओवादी पक्षले ओछ्यानबाटै अपहरण गरेका थिए । त्यति बेला घरमा कोलाहल मच्चियो । चप्पल पनि लगाउन नदिएर खाली खुट्टा तीन दिन हिँडाउँदै जुम्लाको पातरखोला पु-याएर धान कुट्ने मुसल हालेर पेले । २० वर्षअघिको त्यही चोटको असरले उहाँले अहिले उहाँले काम गर्न सक्ने अवस्था छैन । राज्यले आफूहरूलाई बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन उहाँ जिल्ला प्रशासनमा धाउन छाड्नु भएको छैन । यति पीडा भोगेर बस्दा पनि राज्यले आफूलाई हेर्न नसकेको गुनासो उहाँको छ । 

खाँडाचव्रm नगरपालिका–१ देखि ४ वडाका द्वन्द्वपीडित सङ्गठित भएर गत असार १२ गते नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै आफूहरूलाई आयआर्जनसँग जोड्न माग गरेका थिए । सो अवसरमा द्वन्द्वपीडित शाहीले गल्तीबिना पीडा पाएका भन्दै आफूहरूलाई न्याय दिन माग गरिरहेको बताउनुभयो । 

 २०६१ साल जेठ २१ गते राति अपहरणमा परेर माओवादीको कुटपिटबाट अपाङ्गता भएका खाँडाचक्र नगरपालिका–१, मान्मका ६५ वर्षीय छत्रबहादुर शाहीले पीडा दिनेहरू आफ्नै अगाडि घुमिरहेको गुनासो गर्नुभयो । उहाँले आफूहरूले अब कहिले न्याय पाउने भन्दै प्रश्न गर्नुभयो । दुवै खुट्टा नचल्ने भएका उहाँले भन्नुभयो, “मेरा नातिनातिनीले हजुरबुवा तपाईंको खुट्टा के भएका हुन्  भनेर सोध्छन्,” मसँग जवाफ छैन । 

प्रमुख जिल्ला अधिकारी गणेश नेपालीसँग भक्कानिँदै उहाँले भन्नुभयो, “द्वन्द्वका घाउ किन कोट्याउनु भनेर आफ्ना नातिनातिनालाई आगोले पोलिएका हुन् भन्छु । बालबालिकामा बदलाको भाव नआओस् भनेर त्यसो भन्ने गरेको छु ।”

माओवादीबाट पीडा पाएर अङ्गभङ्ग भएको २० वर्ष पुगिसक्दा पनि राज्यबाट कुनै सुनुवाइ नभएपछि न्यायका लागि धाउनु परेको मान्मका नवराज शाहीको भनाइ छ । २० वर्षअघि कालीकोटको मान्म, ताडी, भर्ता, सुकाटिया, कालिकामुग्राहा र गेलाबाट एकै रात अपहरण गरेर जुम्लाको पातरखोला पु-याएर निर्घात कुटपिट गरिएका १०५ जना पीडितले २०६६ साल असोज ३० गते उपचार खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपियाँ मात्र पाएका छन् । उहाँले भन्नुभयो, “त्यो दिनको यातनाले हामी जीवनभरिलाई अपाङ्गता भएका छौँ । काम गर्न सक्ने अवस्था छैन तर राज्यले हेर्दैन, हामी सधैँ पीडित नै पीडित छौँ ।” 

प्रत्येक वर्ष फिजियोथेरापी गर्न बुटवल पुग्दै आएको बताउने खाडाचक्र नगरपालिका–४ का ४७ वर्षीय दानबहादुर विश्वकर्माले भन्नुभयो, “न्याय नपाएरै गाउँभरिका ११ जना दाजुभाइको स्वर्गबास भइसके । 

पातरखोला अपहरणपीडित समूहका अध्यक्ष नवराज शाहीले माओवादी अपहरणपछिको कुटपिटबाट घाइते भएर उपचारकै व्रmममा खाडाचव्रm–२ का भोटे दमार्इं, मन्दिरे कामी, रणबहादुर खड्का, कृष्ण विष्ट, चन्दे कामी, वडा नं. ३ का रङ्गवीरे पाण्डे, वडा नं. ४ का सन्तोष विश्वकर्मा, देउसिंह विश्वकर्मा, देवीलाल आचार्यलगायतको मृत्यु भइसकेको बताउनुभयो । राज्यले अपहरणमा परेकाको सूचीमा मात्र राखेकोमा पीडितको चित्त दुखाइ भएको उहाँले बताउनुभयो । 

अपहरणको सूचीबाट हटाएर घाइते तथा अपाङ्गताको सूचीमा राखेर राहत र जीवननिर्वाह भत्ता पाउनुपर्ने  पातरखोला पीडितको भनाइ छ । पीडितहरूको गुनासोपछि प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यहाँका पीडितलाई सम्बोधन गर्न राज्यबाटै नीतिगत निर्णय गर्नुपर्ने भएकाले प्रधानमन्त्री कार्यालयमा यसअघिका ज्ञापनपत्र पठाइसकिएको बताउनुभयो । उहाँले स्थानीय तहले मेलमिलाप र आयआर्जनका लागि सहयोग गर्नुपर्ने सुझाव दिनुभयो । कालीकोटमा सशस्त्र द्वन्द्वमा राज्य विद्रोही पक्षबाट ५५३ जनाले ज्यान गुमाएका छन् भने २८ जना अझै बेपत्ता छन् । झन्डै एक हजारभन्दा बढी घाइते भएका छन् ।