• १२ साउन २०८१, शनिबार

पहिरोको डरले त्रिपालको बास

blog

बाजुरा समाचारदाता

बाजुरा, साउन ११ गते  । खप्तडछेडेदह गाउँपालिका–६, मैतोलाका अधिकांश बासिन्दा गाउँमा पहिरो लाग्ने डरले घरबास छाड्दै त्रिपाल टाँगेर बस्न थालेका छन् । अविरल वर्षाका कारण मैतोला गाउँको तल र माथिबाट पहिरो बग्न सुरु भएको छ । 

पहिरोमा पुरिने डरले स्थानीय घर छाड्दै त्रिपालमुनि बस्न थालेका हुन् । गत साउन ५ गते राति घरमुनिसम्म पहिरो पुगेपछि घर छाडेर भाग्नु परेको मैतोलाका स्थानीय भिकारी नाथले बताउनुभयो ।

घरमुनि नै पहिरो पुगेपछि डरले भागेर सुरक्षित स्थानमा त्रिपाल टाँगेर बास बस्ने गरेको उहाँ बताउनुहुन्छ । ऋण जोहो गरेर गत वर्ष मात्र नयाँ घर बनाएका नाथ यो वर्ष घर छोडेर भाग्नु परेको गुनासो पोख्नुहुन्छ । स्थानीय केसे नाथ, बिर्केसे नाथ, केसे गुयाललगायत धेरै स्थानीयको उठिबास भएको छ ।

साउनको पहिलो हप्तादेखि सुरु भएको अविरल वर्षाका कारण पहिरोले घर जोखिममा रहेको बिर्केसे नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमुनि पहिरो पुगेपछि डरले अहिले गाउँनजिकै त्रिपाल हालेर बास बस्न बाध्य छु । ”

यहाँका पहिरो प्रभावितलाई त्रिपालबाहेक अन्य केही राहत दिन नसकेको खप्तडछेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टले बताउनुभयो । “गाउँमाथि र मुनिबाट पहिरो लागेपछि केही परिवार सुरक्षित ठाउँमा त्रिपालमा बास बसेका छन्,” उहाँले भन्नुभयो, “केही परिवारलाई विद्यालयमा बास बस्ने व्यवस्था गरेका छौँ ।”

पहिरोबाट प्रभावित स्थानीयको अवस्थाबारे अध्ययन गरी जिल्ला विपत् व्यवस्थापन समितिमा पठाइएको अध्यक्ष विष्टले बताउनुभयो । पहिरोका कारण नौ घर पूर्ण र सात घर आंशिक रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपकुमार गिरीले बताउनुभयो ।

बाढीपहिरो प्रभावितहरू राहतका लागि जिल्ला प्रशासन कार्यालयसम्म पुग्ने गरेका छन् । विपत् प्रभावितका सम्बन्धमा जिल्ला विपत् व्यवस्थापन समितिले राहत उपलब्धताका लागि आवश्यक निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो । 

नाइना जोखिममा

खप्तडछेडेदह गाउँपालिका–६ को नाइना गाउँको बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बर्खा लागेसँगै सो गाउँको बिचमा पहिरो लागेको छ । नाइनाको पूरै गाउँ पहिरोको उच्च जोखिममा छ ।

नाइनाका स्थानीय शेरबहादुर विष्टले गाउँको बिचमा पहिरो लागेपछि घरमा बास बस्न डर लाग्ने गरेको बताउनुभयो । नाइना गाउँ भिरालो ठाउँमा छ । 

स्थानीयलाई बर्खाको समय डरैडरमा रात काट्न बाध्य बनाएको छ । दुई दर्जनभन्दा बढी घर रहेको नाइना बस्ती पछिल्लो समय पहिरोको जोखिममा परेपछि स्थानीयलाई समस्या भएको छ । खप्तड छेडेदह गाउँपालिकाको गुइबन, धुर्तोला, गाँर्जा, गोडडी, पार्तोलालगायतका गाउँबस्ती पनि पहिरोको उच्च जोखिममा छन् । ती बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएको छ । 

जिल्लाका नौ वटै स्थानीय तहमा रहेका बाढीपहिरो जोखिमका गाउँबस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक तथ्याङ्क सङ्कलन गरी गृह मन्त्रालय पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।