• ११ साउन २०८१, शुक्रबार

प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा

blog

चितवन समाचारदाता  

चितवन, साउन ११ गते । भरतपुर महानगरपालिका–१४ मा रहेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ ।  भरतपुर महानगर प्रमुख रेनु दाहालले दुई जना सेवाग्राहीलाई टिकट प्रदान गरी विशेषज्ञ सेवाको शुभारम्भ गर्नुभयो । सेवाको औपचारिक उद्घाटन स्थानीय ७२ वर्षीय नन्दकला कुँवर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई विशेषज्ञ सेवाको टिकट प्रदान गरी गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले सेवाग्राहीको चापलाई ध्यानमा राख्दै विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताउनुभयो । जनताको स्वास्थ्यभन्दा ठुलो कुरा केही नहुने भन्दै उहाँले महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि धेरै कार्यव्रmम गर्दै आएको बताउनुभयो । यस केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने उल्लेख गर्नुभयो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच बढ्दै जाने बताउनुभयो । महानगरको गाउँ गाउँमा पुगेर सेवा दिने योजना अनुसार विशेषज्ञ सेवा सुरु भएको उहाँको भनाइ थियो । केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहीबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसूति तथा स्त्रीरोग तथा रेडियोलोजी सेवा र बिहीबार बालरोग तथा नेत्ररोगको सेवा दिइने छ । २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत तीन जना, पारामेडिक्स नौ जना, नर्सिङ आठ जना, प्रयोगशालाकर्मी चार जना, फार्मेसिस्ट दुई जना, रेडियोग्राफर एक जनासहित ३२ जना कर्मचारी कार्यरत छन् । यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना बिरामीलाई सेवा दिने गरेको छ ।

पश्चिम चितवनको शिवनगरको अस्पतालमा गीतानगर, पार्वतीपुर, फूलबारी, जगतपुर, पटिहानीलगायतका स्थानबाट बिरामी उपचारका लागि आउने गर्दछन् । गाउँमा नै विशेषज्ञ सेवा सुरु भएपछि सामान्य उपचारका लागि भरतपुर अस्पताल आउनुपर्ने बाध्यता हटेको छ । यसले भरतपुरका अस्पतालमा बिरामीको चाप घट्ने छ ।