• ११ साउन २०८१, शुक्रबार

सुरुङमार्गको काम तीन चौथाइ पूरा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ११ गते । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइभन्दा बढी काम सम्पन्न भएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ को काम भइरहेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहको नेतृत्वमा बिहीबार गरिएको स्थलगत अनुगमनका क्रममा आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अबको एक वर्षभित्र सवारीसाधन चलाउने गरी सुरुङमार्गको काम भइरहेको उहाँले बताउनुभयो । 

त्यसै गरी आयोजनाका इन्जिनियर अच्युत भट्टले त्रिभुवन राजपथदेखि सुरुङमार्गसम्म जोड्नका लागि बलम्बुमा निर्माणाधीन फ्लाइओभरको निर्माण ६० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । 

एक लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको हुने छ । एउटा लेनको चौडाइ ३.५ मिटरको हुने छ । सो फ्लाइओभरबाट करिब तीन किलोमिटर पहुँचमार्ग (एप्रोच रोड) मार्फत सुरुङमार्गको काठमाडौँतर्फको पोर्टलमा पुग्न सकिन्छ । काठमाडौँबाट सुरुङमार्ग भएर जाने सवारीसाधनले मात्र फ्लाइओभरको प्रयोग गर्न पाउने छन् । सुरुङमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनले सडकमार्गको प्रयोग गर्ने छन् ।

अनुगमनका क्रममा समितिका सदस्यले आयोजनाको प्रगति र समस्यालगायतका विषयमा जानकारी लिनुका साथै निर्धारित समयमा गुणस्तरीय किसिमले काम सम्पन्न गर्न आयोजनाका इन्जिनियरलाई निर्देशन दिनुभएको थियो ।

अनुगमन टोलीका संयोजक तथा समितिका सभापति सिंहले यस वर्षभित्र नै सुरुङमा सवारीसाधन सञ्चालन गर्ने सरकारले यसअघि नै घोषणा गरिसकेको हुनाले सोही अनुसार कामलाई तीव्रता दिन निर्देशन दिनुभयो । उहाँले अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएकोलगायतका समस्या देखिएको बताउँदै ती समस्याको समयमा नै समाधान गर्नुपर्ने बताउनुभयो ।