• ११ साउन २०८१, शुक्रबार

रामेछापमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

blog

नवराज श्रेष्ठ

रामेछाप, साउन ११ गते । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुर्दा विमानकी छोरी १८ वर्षीय सिता तामाङ, विमानका छिमेकीहरू पेमा तामाङकी छोरी वर्ष १५ की आशिका दोङ, पदम तामाङकी छोरी वर्ष १३ की लक्ष्मी तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो । 

तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको गोकुलगंगा गाउँपालिका–६ का फर्पुका वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो ।  

 लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति पुर्याउने गरी आएको र उक्त घरमा रहेका तीन जनालाई पुरेको जनकारी पाउन साथ स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भए पनि घर भित्र पुरिएकालाई जीवितै उद्धार गर्न नसकिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो । पहिरोमा पुरिएका तीन जना किशोरीहरूको लास गयराती नै निकालिएको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।