• ११ साउन २०८१, शुक्रबार

करोडौँ खर्चिएका संरचना प्रयोगविहीन

blog

तम्घास समाचारदाता

तम्घास, साउन ११ गते  । राज्यको करोडौँ रकम खर्चिएर निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमै निर्माण भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन, थ्रिडी पार्क र बौद्धिक अपाङ्गता अभिभावक सङ्घ गुल्मीको भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । रेसुङ्गा नगरपालिकाको अगुवाइ र गुल्मीका स्थानीय तहको सहयोगमा ३७ लाखभन्दा बढी रकम खर्चेर निर्माण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन प्रयोगविहीन अवस्थामा छ । निर्माण भएको भवन प्रयोग नगरेर ट्राफिक प्रहरी कार्यालयले भाडाकै घरबाट सेवा प्रवाह गरिरहेको छ ।

यस्तै रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा निर्माण भएको पार्क लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ । ५५ लाखको निर्माणपश्चात् रेसुङ्गा नगरपालिकाले विभिन्न समयमा गरी १० लाख रुपियाँभन्दा बढी रकम मर्मतमा खचिएको छ । ६५ लाख रुपियाँभन्दा बढी खर्चिएको पार्कमा अहिले झार पलाएर झाडी बनेको छ । त्यसको प्रयोगमा कसैले ध्यान दिएको छैन । रेसुङ्गा नगरपालिका–९ मा तीनतले चिटिक्क परेको बौद्धिक अपाङ्गता अभिभावक सङ्घ गुल्मीको भवन प्रयोगविहीन अवस्थामा छ । तत्कालीन जिल्ला विकास समिति गुल्मी र लुम्बिनी प्रदेश सरकारको समेत लगानी रहेको उक्त भवन रङरोगन गरेर चिटिक्क पारे पनि प्रयोगमा आएको छैन । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पढाउने उद्देश्यले करिब दुई करोड रुपियाँको लागतमा निर्माण गरिएको भवन सञ्चालनमा आउन सकेको छैन । यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले थ्रिडी पार्क निर्माण गरेर राज्यको रकम दुरुपयोग भएको बताउनुभयो । नागरिकले सरकारलाई खबरदारी गर्ने पहिलेको लाँकुरी मञ्चलाई हटाएर निर्माण गरिएको संरचनाले राज्यको रकम दुरुपयोग हुनु र सञ्चालनमा नआउनु दुःखद भएको बताउनुभयो । 

ट्राफिक प्रहरी कार्यालयको भवन र बौद्धिक अपाङ्गता अभिभावक सङ्घ गुल्मीको भवन उद्देश्य अनुसार सञ्चालनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पढाउन नगरपालिकासँग समन्वय भइराखेको र नगरपालिकाले शिक्षकको व्यवस्था गरिदिने आश्वासन दिएको बौद्धिक अपाङ्गता  अभिभावक सङ्घ गुल्मीका पूर्वअध्यक्ष ईश्वरी पौडेलले जानकारी दिनुभयो । अहिले कहिलेकाहीँ बालबालिका जम्मा गरेर खाना खुवाउने जस्ता कार्य हुँदै आएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार ट्राफिक प्रहरी कार्यालयको भवन पर्याप्त नभएका कारण उक्त भवनबाट सेवा प्रवाह गर्न नसकिएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारबाट यस आर्थिक वर्षका लागि उचित बजेटको व्यवस्था भएकाले थप निर्माण र व्यवस्थापनपश्चात् सञ्चालनमा आउने उहाँको दाबी छ ।

यता रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीका अनुसार नगरभित्र निर्माण सम्पन्न भएका संरचनालाई सञ्चालनमा ल्याउने गरी योजना बनाएको बताउनुभयो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको थ्रिडी पार्कलाई निजी क्षेत्रलाई सञ्चालनका लागि दिने गरी व्यवस्था गरिएको र बौद्धिक अपाङ्गता  अभिभावक सङ्घ गुल्मीको भवनमा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई पढाउन उचित व्यवस्थाप गर्ने उहाँले दाबी गर्नुभयो ।