• ११ साउन २०८१, शुक्रबार

ताल ठेक्का विवादमा स्थानीय र प्रहरीबिच तनाव

blog

कैलारी गाउँपालिकाको कार्यालय घेराउ गरेका स्थानीय र प्रहरीबिच धकेलाधकेल ।

अविनाश चौधरी

धनगढी, साउन १० गते । कैलालीको कैलारी गाउँपालिका –९ मा रहेको महत्वपूर्ण सिमसार कोइलही तालको ठेक्का विवाद उत्कर्षमा पुगेको छ । स्थानीय सरकारले ठेक्का दिएको सो ताललाई स्थानीयबासीले सिमसार क्षेत्र बनाउनु पर्ने माग गर्दै आन्दोलन थालेका छन् ।

स्थानीयसँग कुनै समन्वय नै नगरी गाउँपालिकाको कार्यालयले ठेक्का दिएको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । आन्दोलित वडा नम्बर ९ र ६ का किसानले आज गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए । उनीहरुले ठेक्का बदर, ठेकेदारले तिर्नु पर्ने वक्यौता रकम असुली र ताललाई अब सिमसार क्षेत्र बनाउनु पर्ने माग राखेका छन् । गाउँपालिकाको कार्यालय घेराउ गर्न गएका स्थानीय र प्रहरीबिच घम्साघम्सी चलेको थियो । 

किसानले वडा ९ को वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् । इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज प्रहरी निरीक्षक लोकेन्द्र चन्दले आन्दोलत पक्ष पालिकामा पस्न खोजेपछि रोक्ने प्रयास गर्दा केही समय स्थिति असहज बनेको बताउनुभयो । चोटपटक भने कसैलाई नलागेको उहाँको भनाइ छ । 

आक्रोसित स्थानीयले बुधबार तालका ठेकेदार कृष्ण गिरीले ताल क्षेत्रमा बनाएको टहरा भत्काउन खोज्दा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई आज रिहा गरिएको जनाइएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम चौधरीले किसानसँग वार्ताको प्रयास जारी रहेको बताउनुभयो ।