• १० साउन २०८१, बिहिबार

सत्र लाख क्युविक फिट गोलिया निकासी

blog

ताप्लेजुङको एक निजी वनबाट निकासी गरिएको गोलिया काठ। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १० गते। ताप्लेजुङमा एक वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०८०/८१ मा झण्डै सत्र लाख क्युविक फिट काठ निकासी भएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार निजी वनबाट उक्त परिमाण बराबरको गोलिया काठ निकासी भएको हो।

डिभिजन वन कार्यालयका वन अधिकृत परमेश्वर पासवानका अनुसार गत आवमा कुल १६ लाख ८३ हजार ३६३ क्युविक फिट काठ निकासी भएको छ। जिल्लाका विभिन्न निजी वन क्षेत्रबाट सो परिमाणको काठ निकासी वा स्थानान्तरण गर्न डिभिजन वन कार्यालयबाट इजाजत प्रदान भएको वन अधिकृत पासवानले जानकारी दिनुभयो।

उहाँकाअनुसार सबैभन्दा बढी गत जेठ महिनामा दुई लाख ७६ हजार १८७ क्युविक फिट काठ निकासी भएको छ। त्यसपछि गत वैशाख महिनामा दुई लाख ४३ हजार ९३० क्युविक फिट, चैतमा दुई लाख २६ हजार ६८५ क्युविक फिट गोलिया काठ निकासी भएको छ। गत फागुन महिनामा दुई लाख १९ हजार ५७८ क्युविक फिट र माघ महिनामा एक लाख ४९ हजार ५५४ क्युविक फिट काठ निकासी भएको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका अनुसार गत पुस महिनामा एक लाख ३५ हजार ४१२ क्युविक फिट, मङ्सिर महिनामा एक लाख २७ हजार १३२ क्युविक फिट काठ निकासी भएको छ। असोजमा ९५ हजार ६३६ क्युविक फिट, भदौमा ५३ हजार ३३३ क्युविक फिट, कात्तिक महिनामा ५२ हजार ८०० क्युविक फिट काठ निकासी भएको छ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा ६३ हजार ७८२ क्युविक फिट र गत आवमा सबैभन्दा कम साउन महिनामा ३९ हजार ३२२ क्युविक फिट काठ निकासी भएको छ। यता गत आवमा गोलिया काठ निकासी गर्न इजाजत दिएबापत कुल छ करोड ३५ लाख ३४ हजार ९२६ रुपियाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ। निजी वनमा रहेको अधिकांश उत्तिस, मलातो, चिलाउनेजस्ता प्रजातिका काठ निकासी गर्ने गरिएको पनि वन कार्यालयले जनाएको छ।