• १० साउन २०८१, बिहिबार

नदी कटान नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता

blog

बलान नदी कटान क्षेत्रको अवलोकन निरीक्षण गर्दै मधेश प्रदेशका प्राकृतिक श्रोत वातावरण समितिका प्रदेश सभा सदस्यहरू । तस्बिरः जीवछ यादव

जीवछ यादव

लहान, साउन १० गते । मधेश प्रदेशका प्राकृतिक तथा वातावरण समितिका प्रदेशसभा सदस्यहरूले बलान नदी कटान क्षेत्रमा पुगेर नदी कटान नियन्त्रणको लागि सार्थक पहल गर्ने बताउनुभएको छ । 

बलान नदीले लहान–४ मा रहेको नयाँ बस्ती इस्लामपुर र सुन्दरपुर र लहान–२३ मा बलान नदीले गरिरहेको कटान क्षेत्रको अवलोकन निरीक्षण गरी प्राकृतिक तथा वातावरण समितिले स्थानीय पीडितहरूले उठाएका समस्याहरूलाई प्रतिवेदन तयार गरी मधेश प्रदेश सरकारका सम्बन्धित मन्त्रालयमा नदी नियन्तत्रणको लागि बुझाउनुको साथै कटान क्षेत्रलाई नियन्त्रणमा लिन कार्य अघि नबढेसम्म निरन्तर प्रदेशसभामा आवाज उठाइरहने समितिमा रहेका प्रदेशसभाका सदस्यहरू मनोज सिंह, ममता मण्डल, नुरुल निसा र सञ्जिला यादव र विकास समितिका प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभयो । 

लहान-४ विगत तीन चार वर्षदेखि लगातार बलान नदीले कटान जारी राखेकोले कुनैबेला बस्तीमा बस्न सक्ने अवस्था रहेकोले अकासमा बादल देखिने बित्तिकै बालबालिकाहरूलाई लिएर नजिकको अर्को बस्तीमा जानु परिरहेकोले यसको नियन्त्रणका लागि इसलामपूर र सुन्दरपुरका स्थानीयहरूले प्राकृतिक श्रोत तथा वातावरण समितिका सदस्यहरूको अगाडि आफ्नो पीडा दुवै बस्तीका स्थानीयहरूले पोखेका थिए । 

लहान–२३ मा दश दिन अगाडि आएको बाढीले मात्रै तीन विगहा आँपको बगैँचा कटान गरेर ठुलो क्षति गरेको पीडा स्थानीयहरूले पीडा सुनाउनुभयो । यस वर्ष मधेश प्रदेश सरकारले ९५लाख र लहान नगरपालिकाले ५० लाख गरी एक करोड ४५ लाखको तटबन्ध निर्माण गर्दा १३० मिटर अझै तटबन्ध गर्न ५० लाख थपी दिएर तटबन्ध गरेको भए यतिका क्षति हुने थिएन । कटान गरिएको क्षेत्रको नियन्त्रणको लागि दुई करोडौँको लागतमा पनि नियन्त्रण हुने छैन ।

लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादव, सिरहा जिल्ला समन्वय समितिका प्रमुख तथा स्थानीयवासी समेत रहेका दिनेश कुमार महतो, स्थानीय अशेश्वर यादव, ठकन यादव, दिनेश यादव लगायतका स्थानीयहरूले समितिका प्रदेशसभा सदस्यहरूलाई पीडा बुझन गाउँमै आउनु भएकोमा खुसी लागेको भन्दै नदी कटानको समस्या समाधानको लागि पहल गरिदिन आग्रह गर्नुभयो । 

२०४८ सालदेखि निरन्तर बलान नदी कटानको लागि चुनावको समयममा राजनीतिक दलहरूले यसलाई चुनावी नारा बनाएपनि समस्या समाधान नभएको स्थानीयहरूले गुनासो पोख्दै लहान–२३ तिलेबोना करैया सखुवानन्कारकटि गाउँपालिका ४ र ५ भगवानपुर नगरपालिका ३ र ४ का गरी एक हजारभन्दा उर्वर जमिन कटान गरेर सयौँ घर परिवारलाई सुकुम्वासी बनाइदिएको समितिका प्रदेशसभा सदस्यहरूलाई जानकारी गराएको थियो । 

प्राकृतिक श्रोत तथा वातावरण समिति र विकास समितिका प्रदेश सभाका सदस्यहरूलाई कटान क्षेत्रमा ल्याएर स्थानीयहरूको पीडा सुन्न र समस्या समाधानको लागि युनडिपी संसदीय परियोजना र नेपाल मधेश फाउन्डेसनले गरेको थियो । युएनडिपीको तर्फबाट बिटुसिंहश्री वास्तव र फाउनडेसनको तर्फबाट कृष्ण कुमार साहले सहजीकरण गर्नुभएको थियो ।