• ११ साउन २०८१, शुक्रबार

सवारी कारबाहीबाट दुई करोडभन्दा बढी राजस्व सङ्कलन

blog

जिल्ला ट्राफिक कार्यालय नवलपुर । तस्बिर : मीना कँडेल

मीना कंडेल

कावासोती, साउन १० गते । नवलपुरमा एक वर्षमा ३४ हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०-०८१ मा ३४ हजार दुई सय ३५ सवारी कारबाहीमा परेका हुन् । 

जिल्ला ट्राफिक प्रहरीले एक वर्षको अवधिमा कारबाहीमा परेका सवारी साधनबाट रु. दुई करोड ८७ लाख ५४ हजार राजस्व सङ्कलन भएको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आर्चायले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "गत वर्ष मापसे कारबाहीमा छ सय ४६ सवारीसाधन परेका थिए जसबाट १२ लाख ३९ हजार राजस्व सङ्कलन भएको थियो । आ व २०८०-०८१ मा चार हजार नौ सय ४६ वटा सवारी मापसे कारबाहीमा परेका छन् जसबाट ५२ लाख ६१ हजार सङ्कलन भएको छ ।" यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारबाहीमा परेको ट्राफिक प्रमुख आर्चायको भनाइ छ ।

चालु आर्थिक वर्षको साउन महिनादेखि असार मसान्तसम्ममा ३४ हजार दुई सय ३५ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल १३ हजार ४ सय ६४, जिप, र कार ६ हजार ८ सय ७० वटा, ट्रक, टिपर ८ हजार ३ सय ८८ वटा, बस ३ हजार २५ वटा ,ट्याक्टर एक हजार ३६ वटा तथा अन्य एक हजार चार सय ५२ सवारीसाधन जरिवाना तथा कारबाहीबाट कुल रु. दुई करोड ८७ लाख ५४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख आचार्यले बताउनुभयो । 

आ.व २०७९-०८० मा ३७ हजार ९ सय ५ सवारी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका सवारीसाधनबाट रु. तीन करोड १० लाख राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिनुभयो । अत्यधिक मात्रामा बिना लाइसेन्स सवारीसाधन चलाउने, बिलबुक नबोक्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले गत आर्थिक वर्षमा दुई हजार आठ सय १० पटक विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ । जनचेतना कार्यक्रमबाट एक लाख पचहत्तर हजार दुई सय ३८ जना लाभान्वित भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । सवारीसाधन दुर्घटनामा पर्दा  यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र सडकका कारणले बढी सवारी दुर्घटना हुने गरेको पाइन्छ । 

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्ला प्रहरी कार्यालयमा रिफ्रेस सेन्टरको व्यवस्था गरिएको छ । लामो दुरीका सवारी साधन जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको रिफ्रेस सेन्टरमा एक घण्टा आराम गरेर गन्तव्यमा आवतजावत गर्ने गरेको जिल्ला प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।