• ११ साउन २०८१, शुक्रबार

सभापति यादव र सांसद किराँतीबिच भनाभन

blog

सभापति राजकिशोर यादवको अध्यक्षतामा बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति बैठकमा सहभागी सांसद । तस्बिर : नान

काठमाडौं, साउन १० गते । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसदको भनाभन भएको छ ।

बिहीवारको समितिको बैठकमा सभापति यादवले सांसद सुदन किराँतीलाई बोल्न समय दिनुभएको थियो । बैठकमा सांसद किराँतीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाल्नुभयो ।

सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गर्नुभयो । सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाउनु भयो । 

सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः

सुदन किराँतीः हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । 

सभापतिः माननीयज्यू एक पटक समयको 

सुदन किराँतीः के गर्नु एजेण्डा राखिहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न । 

सभापतिः टेक्निकल कुरा राखौँ 

सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे । 

सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहिँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिनँ नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापतिज्यू । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिनँ टेक्निकल्ली । म त पाइलट पनि परिनँ । 

सभापतिः यहाँ टेक्निकल विषयमा बहस हुने हो । 

सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ?

सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न । 

सुदन किराँतीः केमा गर्दैछु त म । 

सभापतिः तपाईं राजनीति 

सुदन किराँतीः सभापतिज्यू तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु । 

सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ । 

सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ?

सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न । 

सुदन किराँतीः म विषयभन्दा कसरी बाहिर गएँ ? तपाईंले पो बुझ्ने समस्या भयो त यो । 

सभापतिः माननीयज्यू तपाईं अलिकति हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ...

सुदन किराँतीः तपाईं यहाँ दोहोर संवाद गरेर समय नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ।

सभापतिः तपाईं यहाँ ...

सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?

सभापतिः तपाईंलाई...

सुदन किराँतीः तपाईं हठी कि म हठी ?

सभापतिः म कुरै । 

सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ । 

सभापतिः तपाईं समयलाई ध्यान दिनु ।

सुदन किराँतीः सभापतिज्यू कोर्डिनेशन गर्नुस् । 

सभापतिः होइन, समयलाई त ध्यान दिनु...

सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४÷४ वटा गर्नुभयो त । 

सभापतिः किन गरिँदैन ।

सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ । 

सभापतिः विषयमा राख्नुस् न । 

सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको । 

सभापतिः विषयमा राख्नुस् न । 

सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीय जतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यू म बोलिनँ । 

सुदन किराँतीः तपाईंको पनि ‘टेप लाएर’

सभापतिः मान्य हरि उप्रेतीलाई 

हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइलटको, को पाइलटको कारण कि, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई । 

सुदन किराँतीः सभापतिज्यू म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनु भएको रहेछ, धन्यवाद । 

हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ माननीयज्यू । 

सुदन किराँतीः म बस्दिनँ । 

हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति । 

सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुपर्‍याे नि । 

हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो...

सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने कि उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ? 

सांसदहरुः बसौँ न माननीयज्यू । 

हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दैछु त । 

सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो । 

सुदन किराँतीः म त छोट्याउँदै थिएँ । 

सभापतिः यसलाई कन्टिन्यु गरौँ । 

सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने । 

सभापतिः बसौँ बसौँ । 

सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो । 

सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् । 

सुदन किराँतीः तपाईं दाइने झर्‍याे कि देब्रे झर्‍याे हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न । 

सभापतिः हरि उप्रेतीज्यू बोल्नुस् ।