• १२ साउन २०८१, शनिबार

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १० गते । गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणको लागि नगर क्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ । 

२०८१-०८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र बाँदर नियन्त्रणको लागि घोषणा गरेको बनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत शनिबारबाट सुरु गरी १२ गते शनिबार सम्पन्न हुने गरी खाली जमिन, खोल्सा तथा सामुदायिक बनमा ६ हजार भन्दा बढी फलफूलका बिरुवा लगाउन सुरु गरिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ औ नगर सभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका खाली जग्गा, खोल्सा तथा सामुदायिक जङ्गलमा बाँदरका लागि खानेकुरा उब्जाउन फलफूलका बिरुवा लगाउने कार्यक्रम बनाइएको उहाँले बताउनुभयो । 

जस अनुसार बाँदरहरूलाई जङ्गलमा आहारको कमीले गर्दा करेसाबारी हुँदै घरसम्म आइपुगेकाले पनि त्यसलाई रोक्न आहारको व्यवस्था गर्न लागिएको उहाँको भनाइ छ । गोरखा नगरपालिकाले १० वटा वडामा भएका टोल सुधार समिति, वन उपभोक्ता समिति र पालुङटारको सम्बन्धी सरोकारवालाहरूसँग गहन छलफल गरी वनमा फलफूलका बिरुवा लगाउन सुरु भएको हो । 

नगरपालिकाले बाँदरलाई आहारको रूपमा मन पराउने आँप कटहर, केरा, बर, पिपल, स्वामी, किम्बु, अम्बा, लिची, लप्सी लगायतका बिरुवाहरू रोप्न सुरु गरिएको पालुङटार नगरपालिकाले जनाएको छ । फलफूल उत्पादन हुन थालेपछि बाँदर बनमा रोकिने नगरपालिकाले विश्वास लिएको छ । 

फलफूलका बिरुवा रोपिएको स्थानको संरक्षण र दिगोपनको लागि प्रत्येक वडाले कार्यक्रम सञ्चालन गरी त्यस फलफूलका बिरुवा हुर्काएको स्थानमा जथाभाबी बस्तुभाउ र बाख्राहरू बनमा नचराउन प्रत्येक टोलमा सचेतना गराउने सम्बन्धी वडा कार्यालयले गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाभित्र आवश्यक बिरुवा नगरपालिकाले खरिद गरी बाँकी रहेका स्थानहरूमा वृक्षरोपण गर्दै जाने नगरपालिकाको योजना रहेको छ, नगर प्रमुख विवश चिन्तनले भन्नु भयो, “नगरपालिका भित्रका राजनीतिक दल, टोल विकास समिति, वन उपभोक्ता समिति लगायत सबै पक्ष मिलेर अघि बढ्न सक्यौ भने बाँदरबाट दीर्घकालीन रूपमा बालीनाली जोगाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।”

नगरभित्रको जनताको समस्या हल गर्न पालुङटार नगरपालिका नगर प्रमुख विवश चिन्तन, नगर भित्रका कर्मचारी, सामुदायिक बनका उपभोक्ता समितिका सदस्यहरू, टोल सुधार समितिका सदस्यहरू नगरवासी, राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम भइरहेको नगरपालिकाले जनाएको छ ।