• ११ साउन २०८१, शुक्रबार

पञ्चमुलमा निःशुल्क भिडियो एक्स-रे सेवा

blog

पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्सरे गरिदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, साउन १० गते । आँधीखोला गाउँपालिका–१ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको छ । 

गाउँपालिकाले भिडियो एक्स-रे मेसिन खरिद गरी स्वास्थ्य केन्द्रमा उपलब्ध गराएसँगै निःशुल्क सेवा दिन थालिएको हो । यसरी गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स-रे सेवा दिने पञ्चमुल केन्द्र जिल्लामै पहिलो हो । 

वडा अध्यक्ष पवनकाजी अधिकारीले प्राथमिक स्वास्थ्य केन्द्रमा स्टाफनर्स सुदिक्षा केसीले तालिम लिएर आएपछि सेवा प्रवाह सञ्चालनमा ल्याएको बताउनुभयो ।  एउटा गर्भवती महिलाले ३८ हप्ताभित्र चार पटक भिडियो एक्स-रे गर्नुपर्ने बताउँदै अधिकारीले स्वास्थ्य केन्द्रमा ४५ देखि ५० जना गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउने गरेको बताउनुभयो । 

एक पटक भिडियो एक्स-रेका लागि पोखरा पुगेर आउँदा पाँच हजारभन्दा बढी खर्च हुने र चार पटकमा २० हजारभन्दा बढी खर्च हुनेगर्छ । स्वास्थ्य केन्द्रमा भिडियो एक्स-रे राखेसँगै लाखौँ खर्च जोगिने र सामान्य नागरिकको बचत हुने अधिकारीले बताउनुभयो । 

आर्थिक अवस्था कमजोर हुँदा भिडियो एक्स-रे नगरी गर्भवती महिलाले जोखिम मोलिरहेको र आकालमा मृत्यु हुने गरेको जनस्वास्थ्य निरीक्षक डिल्लीराम अधिकारीले बताउनुभयो । दुर्गम गाउँमा सेवा सुचारु भएसँगै गर्भवती महिला समेत सेवा पाउने अवस्था सिर्जना भएको छ । 

गाउँमै भिडियो एक्स-रे सेवा उपलब्ध हुँदा आमा र बच्चाको स्वास्थ्य सुधार हुने र मातृ तथा नवजाात शिशुको मृत्यु दरमा समेत कमी आउने विश्वास गरिएको छ । गाउँमै भिडियो एक्स-रे पुगेसँगै गर्भवती महिला खुसी भएका छन् । यस्तै पालिकाले हरेक महिनामा १५ गते घुम्ती शिविर गर्ने गरेकोमा अब हरेक महिनाको ८ र ९ गते घुम्ती शिविर हुनेछ ।