• १२ साउन २०८१, शनिबार

खेलाडीको उपचारका लागि राहत रकम सङ्कलन

blog

सङ्कलन भएको रकम उपचाररत खेलाडी रबिका राईलाई हस्तान्त्रण गरिँदै ।

राजकुमार भट्टराई

खोटाङ, साउन १० गते । अस्पतालमा उपचाररत खोटाङका खेलाडीको लागि करिब ७ लाख आर्थिक सहयोग सङ्कलन भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोहेम्माकी फुटबल खेलाडी रबिका राईको उपचारका लागि ६ लाख ९६ हजार सङ्कलन गरिएको हो । 

देब्रे खुट्टाको घुँडाको नसा च्यापिएका कारण बि एण्ड बी अस्पताल, ललितपुरमा उपचाररत रबिकाको सहयोगार्थ शुभेच्छुक तथा सहयोगीबाट ६ लाख ९६ हजार ४५३ रुपियाँ जुटाइएको हो । फुटबल खेलाडी रबिकाको साउन ६ गते घुँडाको सफल अपरेसन गरिएको छ । आफन्त, शुभेच्छुक तथा खेलप्रेमी गरी २५४ जनाबाट सङ्कलन भएको सहयोग रकम ‘रविका राई उपचार सहयोग समिति’का संयोजक नवीन राईले अस्पतालमै पुगेर रबिका र उहाँकी आमा कल्पना राईलाई हस्तान्तरण गर्नुभएको हो । 

रबिकाको उपचारका लागि ‘रविका राई उपचार सहयोग समिति’को अगुवाइमा दुई लाख ४३ हजार ९४३ रुपियाँ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईको नेतृत्वमा बुईपा एलाभेन स्र्पोट्स क्लवमार्फत् एक लाख १७ हजार ८१५, दुर्छिमको साल्तेम्मा, बोहेम्मा र हात्तीढुंगे गाउँको पहलमा १ लाख ५३५ रुपियाँ सङ्कलन भएको छ । 

यस्तै, दुर्छिम बोहेम्मा घर भई हाल अमेरिका रहेका भूपाल राई ‘किसन’को पहलमा १ लाख १० हजार १०५, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित प्रगतिशील समाजसेवा युवा क्लबको पहलमा ३२ हजार ६२०, बोहेम्मा घर भई हाल जापानमा रहेका फुटबल खेलाडी कमल राईको पहलमा खोटाङका फुटबल एसोसिएसनहरूबाट २७ हजार ८३३ रुपियाँ प्राप्त भएको ‘रविका राई उपचार सहयोग समिति’का संयोजक नवीन राईले बताउनुभयो ।

बाहुनीडाँडाकै जनजागरण युवा क्लब, झाप्पाका अध्यक्ष दयाबहादुर राईको पहलमा २१ हजार ३० र इलाका प्रहरी कार्यालय झापामा कार्यरत नयन राईको पहलमा १६ हजार १६० रुपियाँ प्राप्त भएको छ । सहयोग समितिका अनुसार कुल रकमभित्र रबिकाका साथीहरूको दिएको ४ हजार ५० रुपियाँ पनि समावेश छ । 

अस्पतालले रबिकाको अप्रेसन गर्न करिब चार लाख खर्च लाग्ने बताएपछि असार २६ गते दुर्छिमकै नवीन राईको संयोजकत्वमा ‘रविका राई उपचार सहयोग समिति’ गठन गरिएको थियो । उपचार मात्र नभएर फलोअपका लागि पुग्ने रकम समेत सङ्कलन भएको समितिले जनाएको छ । खोटाङबाट प्रदेश स्तरीय फुटबल खेलमा सहभागिता जनाइसकेकी रबिकाले चोटका कारण वर्ष दिनदेखि फुटबल खेल्न सक्नुभएको छैन । चोटका कारण क्रमशः हिँडडुल गर्न असहज हुन थालेपछि र खुट्टा सुक्न थालेपछि एमआरआई गरेर हेर्दा घुँडाको नशा चुँडिएको र लिगामेन्ट च्यातिएको पुष्टि भएको थियो । 

कक्षा १२ उत्तीर्ण रेबिका वर्ष दिनअघि काठमाडौँमा फुटसल खेल्ने क्रममा घाइते हुनुभएको थियो । फुटसल खेल्दा लागेको चोट निको भएपनि पुनः गाउँमा आयोजना गरिएको फुटबल खेल्ने क्रममा चोट बल्झिएको थियो । चोट बल्झिएकैबेला चार महिनाअघि लड्नपुग्दा थप चोट लागेको रबिकाको भनाइ छ ।