• ११ साउन २०८१, शुक्रबार

करिब सबै जिल्लामा डेंगु सङ्क्रमण, सबैभन्दा बढी काठमाडौँमा

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, साउन १० गते । देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताउनुभयो ।

इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५९३, कोशी प्रदेशमा ४६१ जनामा डेंगु पुष्टि भएको छ ।

किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताउनुभयो ।

त्यसैगरी, गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ । चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।

कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन ।

उहाँ भन्नुहुन्छ, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेला–बेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।