• १२ साउन २०८१, शनिबार

कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

blog

नोम पेन, साउन १० गते । कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ । 

गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’ बताउनुभएको थियो । हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हाल्नुभएको थियो । 

हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रुपमा निन्दा गर्नुभएको थियो । नोमपेन म्युनिसिपल कोर्टले बिहीबार भ्यानोललाई ‘सार्वजनिक मानहानिको दोषी’ ठहर गर्दै वादी सीपीपीलाई छ अर्ब रियाल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको छ । 

उहाँलाई एक करोड मिलियन रियाल (दुई हजार ४०० अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ । फैसलाका समय भ्यानोल विदेशमा भएका कारण अदालतमा उपस्थित हुनुहुन्नथ्यो । उहाँका वकिल चोङ चोङ्गीले अदालतको फैसलाबाट आफू निराश भएको र आफ्नो क्लाइन्टले ‘आफ्नो विचार व्यक्त’ मात्र गरिरहेको बताउनुभएको छ । अपिल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हुन सेनले एक महत्वपूर्ण औपचारिक भूमिका ग्रहण गर्दै सिनेटको अध्यक्ष बन्नुभएको थियो । यसले उहाँलाई राजा विदेशमा हुँदा राज्यको कार्यवाहक प्रमुखको रुपमा कार्य गर्न अनुमति दिन्छ । निर्वाचन आयोगले सत्तारुढ दल सीपीपीको पक्षमा उभिएको दावी गरेपछि सन् २०२२ मा क्यान्डललाइट पार्टीका उपनेता सोन छायाँलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो । उहाँलाई सत्तारुढ दललाई सात लाख ५० हजार डलर क्षतिपूर्ति र राज्यलाई चार हजार २५० डलर जरिवाना तिर्न आदेश दिइएको थियो । रासस/एएफपी