• १२ साउन २०८१, शनिबार

तनहुँमा ९५ प्रतिशत रोपाइँ सम्पन्न

blog

व्यास नगरपालिका–१० अँधेरीभञ्ज्याङमा धान रोप्दै महिलाहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, साउन १० गते । तनहुँमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पछिल्ला दिनमा नियमित वर्षा भएसँगै गत वर्षको तुलनामा यो वर्ष छिट्टै रोपाइँ सम्भव भएको हो ।

तनहुँका ठुला फाँट सत्रसय, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे फाट लगायतका स्थानमा रोपाइँ पुरा भइसकेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । यहाँका किसानले राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर लगायतका धान लगाउँदै आएका छन् ।

केन्द्रका अनुसार जिल्लामा सात हजार ६७४ हेक्टर जमिनमा धान खेती गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले जिल्लाभर ९५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको र बाँकी जग्गामा पनि रोपाइँ भइरहेको जानकारी दिनुभयो । शर्माले भन्नुभयो, "यसपटक पानी प्रशस्त परेकाले मूल फुटेकाले टारी खेतमा समेत समयमा नै किसानले रोपाइँ गर्न पाएका छन् मलको अभाव नभएकोले उत्पादन बढ्ने सम्भावना छ ।"