• १२ साउन २०८१, शनिबार

चौरासीको चक्कर

blog

श्रद्धेय पुरोहित राम गुरु,

नमस्कार,

‘गुरु’ शब्द कति गायनयोग्य छ है गुरु ? तर तपाईं गुरुहरू यत्रो वर्षसम्म पनि वास्तविक ‘गुरु’ बन्न सक्नुभएन कि जस्तो पनि लाग्छ मलाई । बारम्बार महागुरुहरूलाई सोधेँ । आफ्नै आत्मालाई पनि निकै पटक बिन्ती बिसाएँ । तर तर तथापि किन्तु र परन्तु जस्ता शब्दहरूमै अल्झिइरहेँ, अल्मलिइरहेँ ।

हिन्दु संस्कार अनुरूप वैदिक पूजापाठ, यज्ञविधि विधान र धार्मिक कार्यहरूको विषयमा तपाईंले त्यसका राम्रा नराम्रा पक्षलाई धैर्यतापूर्वक व्याख्या किन गर्न सक्नुभएन ? तपाईंको भक्तिमार्गमा दीर्घ अनुभव भएर पनि त्यसलाई विश्लेषण गर्ने क्षमताको विकास किन गर्न सक्नुभएको छैन ? भक्तिमार्ग केवल अन्धश्रद्धा र अन्धविश्वासको शास्त्रमा मात्र किन गनिन पुग्यो ? चौरासी पूजाकै प्रसङ्गमा पनि तपार्इंले रहस्यका कुरा बताइदिएको भए सबैको बुद्धिको ताला खुल्ने थियो कि ? यो पत्र मेरा बुवाआमाको चौरासीको पूजा ताकाको हो । यसमा अध्ययन गरी पत्रको जवाफ दिनु हुने आशा राखेको छु । यसबाट यहाँहरूको विशिष्टता र गरिमा अझै बढ्छ । सबैको चेतनाको ढोका पनि उघ्रिन्छ । सबैको मस्तिष्कमा उब्जेको शङ्काको बादल पनि बिस्तारै बिस्तारै हट्दै जान्छ ।

सन्दर्भ छ– मेरा माता पिताश्रीको चौरासीको जीवन चव्रmको वैदिक कर्म । अहा ! एक हजार चन्द्रमाको दर्शन गर्न पाउने सौभाग्य रे ? यो अटल सौभाग्यका लागि मैले त अझै चौबिस वटा चिसा हिउँदहरू काट्नुछ, चौबिसै वटा उखरमाउला गर्मीहरूमा यो ख्याउटे शरीरलाई तताउनु छ, तपन गराउनु छ, जीवनको तापमान वृद्धि गर्नु छ । तर जे होस् मज्जै छ यो चौरासीको चक्कर पनि । चुप लाग्नुमा पनि यदाकदा ठुलो आनन्द । उत्सवमा उमङ्गको वर्षा गराउँदाको आनन्द अर्को आनन्द । छिमेकीसँग टिमेक गर्नुभन्दा होलीहंस मुख खोलेर बत्तिस दन्त देखाउनुमा नै फेरि अर्काे आनन्द ।

चौरासीका लागि हामी दुई जोईपोइले केवल दुई दिने बिदा मागेका छौँ, ब्रह्माकुमारी सेन्टरमा । फेरि बिदै त के माग्नु र ? शिव बाबा सदाका साथी, सच्चा साथी, परमधामका समेत साथी भएकाले सदैव साथ साथ हुनुहुन्छ । त्यसैले बाबाबाट बधाईको सौगात बोकेर जादैछौँ ।

कञ्चन कायालाई डोरयाउँदै छौँ– दोलखाको मेलुङ गाउँपालिकाको कालीचौरतिर । बिहान बिहानै भेट भयो– कोटेश्वरमा खोयाबिर्के भाइसँग । कोदाको रसले मधुरसकै काम गरेपछि बनेछन् बिचरा वीरबहादुर । निवेदन गर्दैछु– बाबा ! सबैलाई सद्बुद्धि मिलोस् । ज्ञानमार्गमा कलङ्क नलागोस् । यो शुभ दिन हो– २०७५ साल मङ्सिर २५ गते मङ्गलबार । आज सिद्धिविनायकको बार, विघ्न विनाशकको बार । बारै बारमा बाँचेका त छौँ हामी । आशैआशमा त शास फेरेका छौँ नि हामीले ।

माइक्रोबसले एउटा ट्याग टाँसेको छ– छातीमा । मन्थली–मालुखोला–भीरकोट–रातमाटा–मन्थली–भीरकोट । सबैलाई यात्राका लागि आह्वान गर्दै छ–माइक्रोबस यसरी आउनुहोस्, बस्नुहोस् जाउँला सरर.... खाउँला, पिउँला जाउँला माइक्रो सरर अहो ! माइक्रो पनि मुखराविन्द खोलेर कति मिठो मिठो भाषा बोल्दो रहेछ ? बोलीमा लोली मिलाउँदै मैले पनि ठोकी दिएँ ‘आसन दिए वरदान मिल्ला, रासन दिए राहत मिल्ला’ ।

कति सच्चा सेवाधारी छ यो माइक्रो पनि ? साहुलाई पनि बोक्छ, राहुलाईलाई पनि बोक्छ । अनुशासित आत्मालाई पनि बोक्छ, अपराधी आत्मालाई पनि बोक्छ । साधुलाई पनि बोक्छ । चोरलाई पनि बोक्छ । यसले त सबैलाई सङ्ख्या तोक्छ, जोख्छ । कहिले त वाक्क लाग्ने गरी यात्रा रोक्छ । भाडाको पैसा हातमा बोक्छ, मौका पाएपछि यात्रुहरूलाई नै तथानाम खोक्छ यो माइक्रोबस ।

यो कुहिएको काठमाडौँ छाड्यौँ– अब केही दिनका लागि । कुरूप काठमाडौँसँग कुम जोडेर हिँड्नु परेन । कोटेश्वरमा पानी बेच्ने, बदाम बेच्ने, दालमोठ बेच्ने, घडी बेच्ने र तन्दा बेच्ने सबै ओइरिए–एकैचोटि । श्रीमतीको अपरेसन, छोरो बिरामी, बुहारी सुत्केरी भन्दै– रोगी, भोगी, जोगी, लोभी, मनमोजी आत्माहरू अनेक अवतारमा आए । यो कस्तो रङबिरङको दुनियाँ, यो कस्तो सप्तङ्गी दुनियाँ ? सबैको अभाव आफ्नो आफ्नो, सबैको स्वभाव आफ्नो आफ्नो । सबैको संस्कार आफ्नो–आफ्नो, सबैको फटाइँ गर्ने आधुनिक काइदा पनि आफ्नो आफ्नो ।

म चाहिँ एकोहोरो निरीह सडकमा उभिएको रुखलाई नै नियालिरहेछु । जति पीडामा भए पनि नबोल्ने, जति चोट दिए पनि चेहरामा नदेखाउने र जति बेसहारा बने पनि कसैको सहारा नमाग्ने यो सडकको शान्त रुखसँग बातचित गर्दै छु ।

सडक पनि मसँग साउती मार्छ– “नहतारिई जानु है दाइ । शान्तिदूत बनेर जानू, वाहनमा पनि आत्मा र परमात्माको परिचय पस्किँदै पस्किँदै जानू । कसैले नमिठो बोले पनि कुनै प्रत्युतर नफर्काउनू । जिन्दगी यात्रा हो, तिमीहरू यायावर हौ । चीनका हुनसेन, भारतका राहुल सांकृत्यायन, अमेरिकाका हेनरी किसिन्जर, इटालीका मार्कोपोलो र भास्कोडिगामा जस्तै यात्राको गुप्त रहस्य एवं रमणिकतामा रङ्गिँदै रङ्गिँदै जानु है ।”

ओहो, प्रकृति पो बडो निरहङ्कारी र निर्विकारी लाग्दै छ त आज । मानिस त सबै उस्तै उस्तै धोखेबाज र व्यभिचारी । पल पलमा, पाइला पाइलामा, प्रहर प्रहरमा पीडाको पिलो थपिँदो छ । सङ्कट र सास्ती थपिँदो छ । दौडियो वाहन, कुद्यो जीवन पनि । बिपी राजमार्ग रहरलाग्दो छ । तरियो सुनकोशी, सेलेघाटमा शान्त र सुस्तरी सुइँकिदो सुनकोशी । मलाई भने कविवर स्व. सिद्धिचरण श्रेष्ठको प्रकृतिको सरल चित्रण र सतत् उपासनाले ओतप्रोत ‘ओखलढुङ्गा’ कविताका हरफहरूको याद आइरहेछ यति नै खेर 

‘मेरो प्यारो ओखलढुङ्गा’

हो, मेरो पनि प्यारो दोलखा । प्रिय मेरो मेलुङको माटो । अनि बाटो नाप्दानाप्दै बितेछ पो यो जोवन । पसिना चुहाउँदा चुहाउँदै पो बितेछ यो जीवन पनि । पाठ सिक्दा सिक्दै स्वयं पाठशाला पो भएछ यो जीवन पनि । जिन्दगी सकिएला बरु यो बाटो सकिन्न कदापि । जीवनले मृत्युसँग समर्पण गर्ला किन्तु यो माटोको ममता सकिन्न कहिल्यै पनि । 

तन, मन पुग्यो– मन्थली बजार । खिम्तीको फाँट झनै खाइलाग्दो छ । किर्ने बजार अरूको कुरा काट्न सिपालु छ खुबै । रात भरि कम्मर मर्काई मर्काई नाच्छ । गनाउने पानीको घिनलाग्दो बानी छ यसको बिछट्टै ! देवीटार पनि जोरी खोज्छ बेला बेलामा । लोकल रसले सबैको लोकप्रियतालाई लयालु पाराले खाइदिएको छ क्वाप्ल्याक्कै ।

मन्थलीको नामकरण कसरी रह्यो होला ? नामभन्दा नि काम ठुलो हो । कामभन्दा अझै प्रतिष्ठा पो ठुलो मानिन्छ त । विडम्बना ! समग्र रामेछाप जिल्ला नै अभागी बनेको थियो, अब भाग्यशाली बन्दैछ । यसका सत्र वटा गाउँपालिका नै सुख्खा पीडित क्षेत्रहरूमा गनिएका छन् । पञ्चायतकालीन जल्दाबल्दा नेता नवराज सुवेदीले पनि बारम्बार पदासिन भएर अनुहारमा अबिर दले, गलाभरि माला लगाए खुबै तर जिल्लालाई सधैँ जिल्लाराम मात्रै पारे । रामेछापको रङ कालोबाट सेतो बनाउने जाँगर देखाएनन् । अरूको पनि कल्याणका कसरी गर्ने कहिल्यै सोचेनन् । रामेछापवासी मनको पिलो यसरी निचोर्छन् ।

खुट्टा हाल्यौँ– खिम्ती जलविद्युत् आयोजनाको परिसरमा । २६ जुन, सन् १९९६ मा निर्माण कार्य सुरु भई ११ जुलाई, सन् २००० मा यसको निर्माण कार्य पूरा भएको भन्ने अवगत भयो । हिमाल पावर लिमिटेडले कार्य सम्पन्नपश्चात् नेपाल सरकारलाई हस्तान्तरण गरेको हो भन्ने कर्मचारीहरूबाट थाहा पाइयो । राजधानीबाट करिब १०० किमि पूर्वमा रहेको ६० मेगावाटको यो योजनाले त्यस भेगका टुकी र दियालो बालेर बसेका गाउँलेहरूलाई उज्यालो दिएर गद्गद् पारेको छ । बन्द व्यापार, रोजगारी, सुविधा र सहुलियत पाएपछि मरन्च्याँसे डाँडो पनि मुसुक्क हाँस्दो रहेछ ।

 मालुखोला बजार आइपुग्यौँ दुर्गा र म । यो बजार सानो छ तर सुन्दर छ । मेरो मेलुङ प्यारले आत्मिक आमन्त्रण गर्छ मलाई । तामाकोशीले मृदुल तृप्ति दिन्छ । यहाँको वायुमण्डलले मलाई मेरै बालापनको झझल्को दिलाउँछ । यहाँको बाटो, बुट्यान र बरपिपलले समेत मलाई पिरतीको भाका हालेर गाउँले गीत गाउँन सिकाउँछन् । यहाँका बाली, टारी खेत, कुलो, वायु देवताको मन्दिर र कुना– कन्दराले पनि मेरो हात च्याप्प समातेर स्व. हेम हमालको गाउँको गह भिज्ने यो करुण कविताको वाचन गरेर सुनाउँन थाल्छन्स्–

‘म सधैँ

बसाइँ सरेको सपना देख्छु

नयाँ गाउँ पुग्छु

इँटा जोडेर नयाँ घर बनाइरहेको हुन्छु

कताको कता’

आश्चर्यचकित भएँ म । बसाइँ सरे पनि मन बसेको छैन सङ्कटे सहरमा । पहाडकै काख न्यानो, पहाडकै साख सुकिलो । आज पहाडको यो मेरो घरमा पनि खुबै चहलपहल छ । चौरासी पूजा भक्ति मार्गको ठुलै पूजा पनि हो । पाहुनापासा आउँदा छन्, कोसेलीपात थप्दा छन् । आँत आँत मिलाउँदै स्नेहले भरपुर बन्दै छन् । स्नेह मिलनको मस्याइलो भावमा मिसिँदा छन् ।

ध्वजापताकाको रङ्गीन सजधज छ । कोख वंशावली ब्राह्मण मन्त्र पाठमा जुट्दा छन् । माता पिताजी पुनः वरवधुको परिधानमा पूजन कर्ममा तल्लीन छन् । चियापान र चिनापर्ची चम्किँदो छ । कस्तो मनमोहक चित्र ? सुन, चाँदी र जवाहरातले भन्दा पनि भावनात्मक भाषा र आत्मीयताको अलौकिक आसनमा विराजमान छन् सबै । आँगन त अघाउँजी शृङ्गार गरिरहेको छ भने अरू बयान र बिस्तार कसरी लगाउनु ? ८४ दियो, ८४ जनै, ८४ टपरीमा चामल, ८४ टपरीमा रोटी, ८४ टुक्रा सेतो कपडामा ८४ दक्षिणा र ८४ पूजाको यात्रा गजब लाग्दो छ । चौरासीको चक्कर– न रहरले न साधनको सङ्ग्रहले न तागतका बलले नै गर्न पाइन्छ । रहर गर्दैमा सबै कामना पूरा हुन सक्दैनन् ।

यस वसुन्धरामा निरोगी भई रमाउन पाउनु पनि भाग्य । समाजमा पूजनीय बनेर पुजिनु पनि अर्काे भाग्य । त्यस भाग्यशाली समयको आरतिमा उपस्थित हुन पाउनु सन्ततिका लागि अर्काे ठुलो भाग्य । हो, त्यही भाग्यवान् समयको सामीप्यतामा डुबुल्की मार्दै मार्दै पाइलाहरूलाई फरक्क फर्काउँदै हामी पनि फर्कियौँ– धुलाम्मे काठमाडौँमा । शुद्ध प्रकृतिको प्रेमिल काख छाडेर आइपुग्यौँ फेरि उही उराँठ लाग्दो सहरमा । लौ त ! मेरा गुरु ! मेरा पुरोहित बाजे !! जवाफको चिर प्रतीक्षामा । बाँकी कुरा पछि ।  मधुपर्क

     तपाईंको जजमान

          मोहन