• १० साउन २०८१, बिहिबार

नागढुङ्गा–मुग्लिङ सडक विस्तार कार्य तीन महिना रोकिने

blog

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–मलेखु सडक विस्तार कार्य हुँदै ।

शालिग्राम नेपाल 

चितवन, साउन १० गते । विस्तार कार्य भइराखेको पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिङ सडकखण्डको काम रोकिएको छ ।  बर्सातले गर्दा काम गर्न बाधा हुने भएकाले ठुला काम रोकिएको नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । असार, साउन, भदौ महिना सानातिना कामबाहेक पूर्ण रूपमा विस्तारको काम रोकिएको छ । इन्जिनियर आचार्यका अनुसार यो समयमा भीषण वर्षा हुने र निर्माणको कामलाई असर गर्ने भएकाले रोकिएको हो । 

पहिरो आएमा पन्छाउने, बाटो फराकिलो पार्न रुख काट्ने, जरुरी नाला बनाउनेबाहेकका काम केही नहुने उहाँले बताउनुभयो । मुग्लिङदेखि मलेखुसम्मको ४० किलोमिटर सडकको विस्तारको कामको निरीक्षण नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) लिएको छ । यस कार्यालयको क्षेत्रमा छ वटा ठुला पुल निर्माण कार्य जारी रहेको छ ।  

छ वटा पुलमध्ये पाँच वटाको पिल्लर उठाइएको छ भने एउटाको बाँकी रहेको कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । ‘डेडिकेटेड डबल लेन’ मा विस्तार गर्ने यो सडक मुग्लिङ–नारायणगढको जस्तै चौडाइ रहने छ । बजार क्षेत्रमा भने चार लेनको निर्माण गरिने छ । साँघुरो स्थानमा कम्तीमा नौ मिटर फराकिलो बनाइने छ । अन्य स्थानमा चार लेनको बनाइने गरी दायाँबायाँको अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको आचार्यले जानकारी दिनुभयो । 

ट्रकका लागि अलग्गै लेन  

गह्रुँगो सामान बोकेर गुडिरहेका ट्रकलाई उछिनेर अन्य सवारीसाधन जान समस्या हुने भएपछि साँघुरो, घुमाउरो, उकालो भएको स्थानमा अलग्गै लेन निर्माण गरिने सूचना अधिकारी आचार्यले बताउनुभयो । 

यो सडक विस्तारको काम सकिएपछि अब ट्रक अगाडि लाग्यो, अर्को अगाडि आएको छ छैन भनेर कुरेर बस्न पर्दैन ।  त्यस्ता साँघुरो स्थानमा तीन वटा लेन हुने छ । एउटामा ट्रक गुड्ने छ, अर्को दुई वटामा अन्य सवारीसाधन ढुक्कले चलाउन पाइने छ । यसो गर्दा समयको बचत र दुर्घटनाको जोखिम पनि कम हुने आचार्यले बताउनुभयो । पूर्व र पश्चिमबाट आएका र पोखरातर्फबाट काठमाडौँ जान आएका सवारीसाधनको चाप मुग्लिङ–नागढुङ्गा सडकखण्डमा पर्ने गरेको छ । यही चापलाई ध्यान दिएर भारी सवारीसाधनका लागि अलग्गै लेनको व्यवस्था गर्न लागिएको हो । अहिलेसम्म निर्माणको प्रगति हेर्दा १४ प्रतिशत पुगेको उहाँले बताउनुभयो । 

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम क्षेत्रको कार्य क्षेत्रमा परेको छ । नागढुङ्गादेखि मुग्लिङसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति भइराखेको छ । पश्चिम क्षेत्रमा भने ४० किलोमिटरको काम गरिने छ । बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ । यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएको छ । 

पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको छ । यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । गोमती, चरौँदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्दैछ । यो खण्डमा १० ठाउँमा आकासे पुल निर्माण गरिने छन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, मझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिङमा आकासे पुल निर्माण गरिने छन् ।

यस क्षेत्रको ठेक्का सम्झौता चार अर्ब ८० करोड रुपियाँको लागतमा निर्माण हुने छ । मुग्लिङ– नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ । साँघुरो स्थानमा भने पहाडलाई काटिने कार्यालयले जानकारी दिएको छ । विकल्प रहेको स्थानमा पहाड काटिने छैन, यो खण्डमा करिब ३५० रुख काटिने छन् । सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा २० वर्ष सडक टिक्ने गरी डिजाइन भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।  

राजधानी भित्रने मुख्य सडक भएकाले ठेक्का सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको आयोजनाले जानकारी दिएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो ।