• ९ साउन २०८१, बुधबार

व्यावसायिक तरकारी खेतीमा रमाउँदै पाइजा

blog

प्लाष्टिक घरभित्र लगाइएको गोलभेडा खेतीमा काम गर्दै कृषक टीका पाइजा । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटकी टीका पाइजाले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी लिँदै आउनुभएको छ । पाइजाको घर वरपरको खेतबारी यतिखेर तरकारी खेतीले भरिएको छ । 

६ रोपनी क्षेत्रफलमा उहाँले काउली, बन्दागोभी, गोलभेडा र आलु खेती गर्नुभएको छ । मौसमी र बेमौसमी ताजा तरकारी उत्पादन गरेर वार्षिक रुपमा ६ देखि ७ लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । 

पहिला कोदो खेती गरिन्थ्यो, उहाँले भन्नुभयो, ‘‘कोदो खेती गरेर घरखर्ची चलाउन धौ–धौ भयो । धेरै परिश्रम गर्दा पनि आम्दानी कम हुने भएपछि कोदो खेती छाडेर तरकारी खेती गर्न थालेपछि राम्रो आम्दानी हुन थालेको छ ।’’

गाउँका युवायुवतीहरु विदेश जाने लहर चलेको छ, पाइजा भन्नुभयो, ‘‘तरकारी खेतीमा परिश्रम गरे राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेर १५ वर्षदेखि कृषि पेशामा लागेकी छु । तरकारी बिक्री गरेर घरखर्च चलाउन र केही रकम बचत गर्न सहज भएको छ ।” बेलाबखत स्थानीय सरकार र अन्य सरकारी निकायले दिने तालिम र अनुदानले प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । 

खुला जमिनमा गोलभेडा खेती गर्दै आउनुभएकी टीकालाई अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले फलामे प्लाष्टिक घर निर्माण गरिदिएपछि गोलभेडा खेती गर्न सहज भएको छ । 


गाउँपालिकाको एक लाख ८७ हजार पाँचसय र आफ्नो ६२ हजार पाँचसय रुपियाँ गरी दुई लाख ५० हजार रुपियाँ बराबरको लागतमा फलामे प्लाष्टिक घर निर्माण भएपछि बेमौसमी गोलभेडा खेती सुरु गरेको कृषक पाइजाले बताउनुभयो । 

खुला रुपमा गोलभेडा खेती गर्दा किराको प्रकोप धेरै हुने र उत्पादन पनि थोरै हुने हुन्थ्यो, कृषक पाइजाले भन्नुभयो, ‘‘गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा प्लाष्टिक टनेल बनाइदिएपछि गोलभेडा खेतीमा रोग किराको प्रकोपमा कमी र उत्पादनमा वृद्धि भएको छ । थोरै परिश्रमबाट धेरै आम्दानी लिन सकिने भएको छ ।’’ उत्पादनको भएको तरकारी म्याग्दीको सदरमुकाम बेनी र पोखरासम्म पुग्ने उहाँले बताउनुभयो । 

बेमौसममा उत्पादन भएको तरकारीले राम्रो मुल्य पाउने भएकाले बर्षातको समयमा कोदो खेती नगरेर काउली बन्दा लगाउने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय टिकोटका ३० देखि ३५ घरधुरीले कोदो खेती गर्न छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेको वडाध्यक्ष मइलन पुनले बताउनुभयो ।

व्यावसायिक रुपमा तरकारी उत्पादन गर्ने किसानलाई गाउँपालिकाले तालिम प्रदान, उपकरण र प्लाष्टिक घर निर्माणमा सहयोग गर्ने गरेको उहाँको भनाइ छ ।