• ९ साउन २०८१, बुधबार

आर्ट काउन्सिलमा ‘रासलीला’

blog

काठमाडौँ, साउन ९ गते । दिव्य नृत्यले बौद्धिक ग्रन्थमा समकालीन कथाहरू प्रस्तुत गर्छ अर्थात् भागवत पुराण र महाभारत, प्राचीन पाठलाई आधुनिक जीवनसँग जोड्ने चर्चित कथाहरू अहिले ‘रासलीला’ कला प्रदर्शनीमा देख्न सकिन्छ । नेपाल आर्ट काउन्सिलमा भइरहेको प्रदर्शनी भगवान् कृष्णको जीवनीको भागवतम् भन्ने मुख्य कथामा आधारित छ । 

साउन ५ देखि सुरु भएको प्रदर्शनीमा महाभारतका तीन कथालाई सम्मिलित गरिएको कलाकार प्रियम प्रधानले बताउनुभयो । औपचारिक रूपमा चित्रकला नपढे पनि प्रियमले यसअघि तीन पटक चित्रकलाको एकल प्रदर्शनी गरिसक्नुभएको छ । मल्टिमिडिया टेक्नोलोजी पढेका प्रियमले भागवत गीताका ज्ञानको खोजलाई कलामा प्रस्तुत गर्ने जमर्को यस प्रदर्शनीमा गर्नुभएको छ । 

उहाँले यस पटक कलाका विविध विधालाई संयोजन गरी प्रदर्शनीमा राख्नुभएको छ । चित्रकला, ध्वनि, गीत, सङ्गीत, फेसन, काष्ठकला, मूर्तिकला, प्रतिस्थापन कलालगायत कला र सौन्दर्यका विविध पाटोको सुन्दर संयोजन गरी भागवत गीताका भावलाई उतार्ने प्रयास गरिएको छ । 

यो प्रदर्शनीलाई सामूहिक कार्यका रूपमा परिभाषित गर्न खोजिएको छ । विविध विधाका २२ वर्षदेखि २८ वर्षसम्मका आठ युवाले यो प्रदर्शनीमा सहकार्य गरेका छन् । कलाकार विनीत महर्जन, जुलियन शाक्य, स्मारिका फुयाँल, ऊर्जा आचार्य, सुवी लामा, सृष्टिका योञ्जन, उत्सव बिएस प्रधान र प्रियम प्रधान हुनुहुन्छ । कलाकार प्रियम प्रधानले भन्नुभयो, “नेपालमा यो हाम्रो अन्तिम सहकार्य हो । हामी जहाँ पुग्ने छौँ, त्यहाँ अन्य माध्यमबाट फेरि जोडिएला ।”

उहाँका अनुसार नेपाल छाड्नुअघि कलामा एउटा प्रयोग गर्न खोजिएको हो । रासलीलामा सहकार्य गरेका आठै कलाकार विदेश यात्राको कुनै न कुनै तयारी गरिरहेका छन् । सायद आठै जना यहाँ रहन्नन् । भविष्यको खोजीमा कहाँ पुग्लान् तर देशका लागि यो अन्तिम कार्य हुने छ । 

यो सामूहिक कार्य हो । यहाँका कलाकृतिमा कसैको नाम उल्लेख छैन । कौरवको सभामा द्रौपदीको वस्त्र हरण र अदृश्य रूपमा कृष्णको वस्त्र दानलाई सुन्दर ढङ्गले देखाइएको छ; जहाँ फेसन डिजाइनरको सुन्दर कला देख्न सकिन्छ । कलाकार प्रियम भन्नुहुन्छ, “यो नेपाली चेलीको कथा हो । घर घरमा हुने महिला हिंसाको विम्ब हो ।”

महाभारतका तीन कथालाई प्रदर्शनीले मुख्य रूपमा उठाएको छ । एउटा वस्त्र हरणको दृश्यको कला जहाँ नारीको सम्मानका निम्ति स्वयं कृष्णले बचाउ गरे, एउटा भीष्मपितामह वाणमाथि पल्टेर बसेको दृश्यको कला र अर्को महाभारतको युद्ध सुरु हुनुअघि पाण्डव र दुर्योधन भगवान् कृष्णको मद्दत माग्न जाँदाको दृश्य कला; जहाँ दुर्योधनले नारायणी सेना मागे र अर्जुनले कृष्ण भगवान् मागे । प्रदर्शनीमा राखिएको एउटा कुर्सीले भगवान् कृष्णका बुवा वासुदेव र आमा देवकीलाई इङ्गित गर्छ ।  

गोधूलिको सौन्दर्यले मोहित कृष्ण; जहाँ हल्का हावा चल्छ र साँझमा कमलको फूल चम्कन्छ, उनी आफ्नो बाँसुरी बजाउन थाल्छन् । उनका मधुर धुनहरू वृन्दावनभर गुन्जिन्छन्, जसले गोपीलाई आफ्नो साँझको अनुष्ठानमा व्यस्त आफ्ना काम र कर्तव्य त्यागी बाँसुरीको आवाज पछ्याउन प्रेरित गर्छ । यही ठाउँमा ‘रासलीला’ हुन्छ । गोपीले हात जोडेर ठुलो घेरा बनाउँछन् । कृष्ण प्रत्येक गोठाला युवतीसँग एकैचोटि नाच्छन्, तैपनि प्रत्येकले उनीसँग एक्लै नाचिरहेको ठान्छन् यद्यपि रासलीला एक रात मात्र रहन्छ । कृष्णले समयलाई एक कल्प वा धेरै युगमा फैलाउँछन् । यो समाप्त भएपछि गोपिनीहरू यमुना नदीमा स्नान गरी घर फर्कन्छन् । प्रदर्शनीमा यिनै कुरा कलामार्फत झल्काउन खोजिएको छ । प्रदर्शनी साउन १९ सम्म सञ्चालन हुने जनाइएको छ ।