• ८ साउन २०८१, मङ्गलबार

कोशीमा हाम फालेकी महिलाको उद्धार

blog

फाइल तस्बिर ।

जयकृष्ण यादव 

इनरुवा, साउन ८ गते । सुनसरीको कोशी ब्यारेजमा हाम फालेर आत्महत्या प्रयास गरेकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ । महोत्तरी जिल्ला घर बताउने ६५ वर्षीय महिला मन्दीदेवी यादवले कोशी ब्यारेजको ११ नम्बर ढोकाबाट हाम फालेकी थिइन् ।

प्रहरीले उहाँलाई पानीमा तैरिएको अवस्थामा उद्धार गरेको प्रत्यक्षदर्शी देवराज यादवले जानकारी दिनुभयो । कोशी ब्यारेजमा हाम फालेको केही मिनेटमै प्रहरीले नाउँको सहायताबाट महिलाको सकुशल उद्धार गरिएको यादवले जानकारी दिनुभयो । 

कोशी प्रदेशको सुनसरी र मधेस प्रदेशको सुनसरी र सप्तरीसँग जोडिएको देशकै सबैभन्दा ठुलो नदी हो सप्तकोशी नदी । नदीमा बगिरहेको अवस्थामा मन्दीदेवी यादवलाई कोशी ब्यारेज प्रहरीले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । 

मंगलबार दिउसो २ बजेको समयमा महिलाले ११ नम्बर ढोकाबाट हामफालेका थिए । महिलालाई पानीले बगाइरहेको अवस्थामा प्रहरीलाई जानकारी आउने बित्तिकै प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरिएको प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारले जानकारी दिनुभयो । उद्धार गरिएको महिलाको उपचारको लागि जिल्ला अस्पताल सुनसरी पठाइएको छ ।