• ८ साउन २०८१, मङ्गलबार

स्वार्थको द्वन्द्वले मुलुकमा भ्रष्टाचार बढ्यो : योगेश भट्टराई

blog

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद योगेशकुमार भट्टराई ।

काठमाडौँ, साउन ८ गते। नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले स्वार्थको द्वन्द्व सम्बन्धी कानुन सरकारले तत्काल निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको हो। 

उहाँले मुलुकमा विकराल बन्दै गएको भ्रष्टाचार कम गर्नको लागि स्वार्थको द्वन्द्व सम्बन्धी कानुन तत्काल निर्माण गरी न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभएको हो। 

उहाँले सर्वोच्च अदालतले समेत आदेश दिएकाले सो कानुन निर्माणमा सरकारले ढिलाइ गर्न नहुने तर्क गर्नुभयो। उहाँले स्वार्थको द्वन्द्वसम्बन्धी कानुन बनाउन २०६९ सालमा मन्त्रिपरिषद्ले रणनीतिक योजना बनाए पनि अघि नबढेको बताउनुभयो। 

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्थापन गर्न कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। 

उहाँले संविधान जारी भएपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपाल सम्बन्धी रिपोर्ट दिँदै भ्रष्टाचारयुक्त मुलुकमा नेपाल ५० अङ्क भन्दा तल रहेको बताएको पनि उल्लेख गर्नुभएको छ। 

उहाँले स्वार्थको द्वन्द्व बाझिँदा भ्रष्टाचार पनि बढ्दै गएको भन्दै त्यसको नियन्त्रण र नियमन गर्ने कुरा कमजोर बनेको देखिएको बताउनुभयो। उहाँले राजनीतिक दल,द प्रशासनिक नेतृत्वलाई स्वनियमन गर्न स्वार्थको द्वन्द्वसम्बन्धी कानुन आवश्यक देखिएको बताउनुभएको हो।

उहाँले ड्राफ्ट भएर कानुन मन्त्रालयमा रहेको कानुनलाई छिटो भन्दा छिटो संसदमा ल्याएर नेपाललाई लोकतान्त्रिक र सभ्य मुलुकको रूपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले राजनीतिक नेतृत्वको आचरणलाई नियमन गर्न स्वार्थको द्वन्द्व व्यवस्थालाई कानुनी ढङ्गले उपचार खोज्न आवश्यक  रहेको बताउनुभयो।