• ८ साउन २०८१, मङ्गलबार

पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन ८ गते । गोरखामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि गोरखा नगरपालिकामा निःशुल्क स्त्री रोग जनरल स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।  

शिविरमा ८२ जना महिलाहरूले पाठेघरमा हुने क्यान्सरको स्वास्थ्य उपचार लिएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर बाबु रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा ३ स्थित नारेश्वरमा सोमबार र मंगलबार निःशुल्क दुई दिने स्त्री रोग शिविर सम्पन्न गरिएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताउनुभयो । पाठेघरको मुखको क्यान्सरको स्किनिङ गराउँदा ८२ जना महिलाहरूको रिर्पोट नेगेटिभ आएको र कुनै खतराको सङ्केत नदेखिएको स्त्रीरोग विशेषज्ञ तथा क्यान्सर विशेषज्ञ डा अनिता थापाको भनाइ छ ।

नारेश्वरमा सञ्चालन भएको शिविरमा ८२ जना महिलाको पाठेघरको क्यान्सरको जाँच, १ सय ३८ जनको स्त्री रोग सम्बन्धी जाँच, १ सय ४३ जनाले भिडियो एक्स-रे सेवा, ७२ जनाले सुगर र ८० जनाले नाक, कान र घाँटीको जाँच गराएका गोरखा नगरपालिकाले जनाएको छ । 

गोरखा नगरपालिकाको आयोजना र ग्रीनसिटी अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा वरिष्ठ स्त्री रोग तथा क्यान्सर रोग विशेषज्ञ डा अनिता थापा, नाक कान घाँटी रोग विशेषज्ञ डा चेतना पाठक, अल्ट्रासोनोलोजिष्ट डा विनोद शाह, ग्रीन सिटी अस्पतालका जनरल फिजिसियन डा मनिष पनेरु र सुप्रत विष्टको चिकित्सक टोलीले ४६० जना बिरामीलाई स्वास्थ्य सेवा दिएका थिए । 

गोरखा नगरपालिका–३ स्थित नारेश्वरका महिलाहरू लक्षित गरी मुटु फाउण्डेशन नेपाल, एसोसियन फ्रान्स र नमस्ते प्रोजेक्ट फ्रान्सको प्रयोजन रहेको थियो। यस स्वास्थ्य शिविरबाट ४ सय ६० जनाले सेवा लिएका गोरखा नगरपालिका–३ का वडा अध्यक्ष चुल बहादुर कुँवरले बताउनुभयो ।