• ८ साउन २०८१, मङ्गलबार

सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

blog

तस्बिर : रासस

राँझा (बाँके), साउन ८ गते । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगन्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त  मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । 

हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत  भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिनुभयो । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका सोहनलाल यादव बताउनुहुन्छ । पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ । 

यसैबिच, बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवर्द्धनका निम्ति हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगन्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेवलाई जोडेर धार्मिक पर्यटन क्षेत्र बनाउन आफू क्रियाशील रहेको बताउनुभयो । रासस