• ८ साउन २०८१, मङ्गलबार

सेवाग्राहीको लागि टोल फ्री नम्बर

blog

चौरजहारी नगरकार्यपालिकाको कार्यालय । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, साउन ८ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताको लागि नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको जनाएको हो । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले १८–१०५–०००–१८० नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकायहरूबाट प्रवाह हुने सेवा, प्राप्त गर्ने प्रक्रिया, सूचना तथा जानकारीका बारेमा टोल फ्री नम्बरमा निःशुल्क फोन गरेर सेवा लिन सकिनेछ । 

त्यसका साथै सेवाग्राहीको कुनै सल्लाह, सुझाव र गुनासो भएमा पनि टोल फ्री नम्बरमा सम्पर्क गर्न सकिनेछ । सेवाग्राहीका लागि टोल फ्री नम्बर २४ घण्टा खुल्ला रहने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले केही दिन अघि विद्युतीय टोकन प्रणालीसहितको एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको थियो । यस केन्द्रमा अहिले सेवाग्राहीका लागि निःशुल्क इन्टरनेट सेवा पनि थप गरिएको छ । यसले सेवाग्राहीलाई थप सहज हुने विश्वास नगरपालिकाले लिएको छ । 

यसका साथै नगरपालिकाले सेवाग्राहीको गुनासो सङ्कलन गरेर साप्ताहिक रूपमा विवरण सार्वजनिक समेत गर्ने गरेको छ । सेवाग्राहीमा गुनासो तथा प्रश्न गर्ने संस्कारको विकास गर्ने र स्थानीय सरकारको सेवा प्रवाहलाई थप सरल, सहज र सेवाग्राहीमैत्री बनाउन यस्तो कार्य थालिएको नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो । यस कार्यले पारदर्शी र जनमैत्री स्थानीय सरकारको अभ्यासलाई टेवा पुगेको उहाँको भनाइ छ ।