• ८ साउन २०८१, मङ्गलबार

दुधालु गाई पालनमा कृषकको बढ्यो आकर्षण

blog

वालिङ नगरपालिका –८ का कृषक सीतादेवी भण्डारीले अनुदानमा पाउनु भएका गाईहरु । तस्बिरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, साउन ८ गते । स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु व्यावसायिक गाईपालनतर्फ आकर्षित भएका छन् । गाई खरिदमा अनुदान दिएको पालिकाले उत्पादनमा आधारित नगद अनुदान दिदैआएको छ । 

नगरपालिकाले दुधमा आत्मनिर्भर बनाउन गाई खरिदमा अनुदान दिएको जनाएको छ । ‘वालिङ नगरपालिका दुधमा आत्मनिर्भर एवम् अनुदान कार्यान्वयन कार्यविधि २०८०’ लाई पालिकाले कार्यान्वयन गर्दै ३९ वटा गाई खरिदमा १९ लाख ३० हजार अनुदान दिएको हो ।

गाईभैंसी पालनको माध्यमबाट रोजगारी सिर्जना गरी वालिङ नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाईभैंसी खरिदमा ५० प्रतिशत वा अधिकतम ५० हजारसम्म अनुदान दिइएको वालिङ नगरपालिका पशु सेवा शाखा प्रमुख डा. रोशन बस्यालले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि दुधमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत गाई खरिद गर्न ४० लाख बजेट विनियोजन गरेको थियो । पालिकाको अधिकतम ५० हजार अनुदान र बाँकी किसानको लागत साझेदारीमा गाई खरिद गरिएको छ ।

दुधमा आत्मनिर्भर कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३९ वटा उन्नत (जर्सी, होलिस्टिन) गाई खरिद गरिएको हो । समूह सहकारीमा आबद्ध भएका १६ जना किसानले गाई खरिदमा अनुदान पाएका हुन् । 

दुधमा आत्मनिर्भर अभियान अन्तर्गत अनुदान दिइएको वालिङ नगरउपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । अनुदानले कृषकहरु उत्साहित भएको उहाँको भनाइ छ ।

अनुदानमा दुधालु गाई पाएपछि आफूहरुमा उत्साह थपिएको गाई पालक कृषक टिकाराम रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाई खरिदमा अनुदान पाइएको छ भने दुध उत्पादनमा आधारित रहेर नगद अनुदान पाइएको छ ।”

वालिङ नगरपालिका दैनिक एक हजार ५ सय लिटर दुध उत्पादन गरी बिक्रीबाट दैनिक एक लाख १२ हजार आम्दानी गर्ने अपेक्षा गरिएको उपप्रमुख तिवारीले बताउनुभयो । पालिकाले गत आर्थिक बर्षदेखि प्रतिलिटर १० रुपियाँ अनुदान दिँदै आएको छ ।