• ८ साउन २०८१, मङ्गलबार

कांग्रेसका लामाद्वारा बागमतीको मुख्यमन्त्रीमा दाबी पेस

blog

बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा तामाङको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गर्दै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, साउन ८ गते । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) ले दाबी पेस गर्नुभएको छ।

सङ्घमा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्ने सहमति गरेसँगै बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न लामाले दाबी पेस गर्नुभएको हो ।

कांग्रेस र एमालेका नेताहरू प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको थियो । कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ । 

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नुभएको थियो ।

बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेस गर्न दलहरूलाई आज मङ्गलबार बेलुका ५ः०० बजेसम्म समय दिइएको छ । लामाले सरकार गठनका लागि दाबी पेस गरेसँगै आजै साँझ ५ बजेपछि लामालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गर्ने जनाइएको छ ।