• ८ साउन २०८१, मङ्गलबार

कोदो खेतीमा किसानको आकर्षण घट्दाे

blog

डोटीको सायल गाउँपालिकामा गरिएको कोदो खेती । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

डोटी, साउन ८ गते । डोटी जिल्लाको ग्रामीण क्षेत्रमा कोदो उत्पादनतर्फ किसानको आकर्षण घट्दाे छ । कोदोको महत्वको बारेमा किसानमा कम जानकारी तथा उत्पादित कोदोको उचित बजारीकरणको अभाव लगायतका समस्याका कारण व्यावसायिक रुपमा कोदो उत्पादन गर्ने कार्यको सुरुवात हुन सकेको छैन । 

"केही वर्ष अघिसम्म उ त्यो माथिको सबै जमिनमा कोदो खेती गरिन्थ्यो, आज भोलि गाउँघरमा खेतीको काम गर्ने मान्छे पनि छैनन्," आफ्नो घरभन्दा माथितिरको बाँझो जमिन देखाउनुहुँदै डोटीको पूर्वीचौकी गाउँपालिका–२ बग्लेग गाउँका स्थानीय किसान गोरख ठकुल्लाले भन्नुभयो, "आजभोलि तराईमा उत्पादन हुने गहुँ चामल सजिलैसँग गाडीले घरसम्मै ल्याइपुर्‍याउँछ । उहिलेकाे जस्तो खेतीपातीको लागि काम गर्ने चलन पनि गाउँघरमा घट्दै जान थालेको छ । स्थानीय स्तरमा अलिअलि उत्पादन भएको कोदो पनि गाई गोरुलाई खुवाउनै ठिक्क हुन्छ ।"

केही वर्ष अघिसम्म पनि जिल्लाको सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका लगायतका स्थानीय तहहरुमा मुख्य खाद्यान्न बालीको रुपमा कोदोको उत्पादन हुने गरेको थियो । पछिल्लो समयमा कोदो उत्पादन हुने जमिन बाँझो देखिन्छ । 

सायल गाउँपालिका ४–का किसान तेज पाण्डेका अनुसार कोदो उत्पादन गरेर विक्रि गर्ने चलनको अझै सुरुवात स्थानीय स्तरमा हुन सकेको छैन । आफैँले उत्पादन गरेको कोदो स्थानीयहरुले उपभोग नगर्ने र विक्री पनि नहुने भएपछि उत्पादन घट्दै गएको स्थानीय किसान पाण्डेको तर्क छ । 

जिल्लाका ग्रामीण क्षेत्रबाट युवा जनशक्ती कामका लागि भारतलगायत तेस्रो मुलुकसम्म पलायन हुने क्रम जारी छ । गाउँघरबाट युवा जनशक्ति पलायन भएसँगै अन्न उत्पादन हुने धेरैजसो खेतीयोग्य जमिन बाँझो देखिन्छ । पछिल्लो समयमा स्थानीय स्तरमा उत्पादन हुने अन्न भन्दा बजारमा पाइने नयाँनयाँ खानेकुराहरु ग्रामीण क्षेत्रसम्मै पाउन थालेपछि उपभोक्ताहरुको खानपान गर्ने बानी फेरिएको कृषी ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । 

निमित्त कार्यालय प्रमुख अवस्थीले भन्नुभयो, "किसानहरुले कोदो खेती गर्न छोड्दै गएका कारण उत्पादन पनि घट्न थालेको छ । कोदो खेती गर्ने कार्य किसानका लागि आफैंलाई घृणाको खेती जस्तो लाग्ने गरेको छ । कोदोको सट्टामा अन्य अन्नबाली र तरकारी खेती गर्न थालेपछि पनि जिल्लामा कोदो उत्पादन घट्न थालेको छ ।"

कृषि ज्ञान केन्द्र डोटीबाट प्राप्त भएको जानकारी अनुसार पछिल्ला केही वर्षमा जिल्लामा कोदो उत्पादन उल्लेख्य रुपमा वृद्धि भएको देखिँदैन । कृषि ज्ञान केन्द्रबाट उपलब्ध भएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८-०७९ र २०७९-०८० मा जिल्लामा ४ हजार २५० हेक्टर जमिनमा किसानले गरेकाे कोदो खेतीमा ५ हजार २७१ मेट्रिक टन कोदो उत्पादन भएको छ । 

आर्थिक वर्ष २०८०-०८१ मा ४ हजार २९० हेक्टर जमिनमा कोदो खेती क्षेत्रफल जमिनमा ५ हजार १९० मेट्रिकटन कोदो उत्पादन भएको छ । जिल्लामा अझै पनि ६ हजार ७७६ हेक्टर खेतीयोग्य जमिन खेती नगरेर बाँझै छ । 

देशका सहरी इलाकामा पछिल्लो समय कोदो छिमेकी मुलुकबाट आयात हुन थालेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा उत्पादित कोदाेलाई रणनीतिक रुपमा बजारीकरण गर्नसके किसानलाई कोदो उत्पादनतर्फ आकर्षित गर्न सकिने स्थानीयको भनाइ छ । जिल्लाका स्थानीय तहहरुमा पनि कोदो उत्पादन वृद्धि गर्न र उत्पादित कोदोको बजारीकरणका लागी उपयुक्त योजना निर्माण गरेर कार्यान्वयन गरेको पाइँदैन ।  

डोटीमा जिल्लामा ३२ हजार २७६ हेक्टर खेतीयोग्य जमिन छ । जिल्लामा कोदो उत्पादनमा वृद्धि नभएपछि कोदो उत्पादन प्रवर्धनका लागि चालु आर्थिक वर्षमा गहुँ काटेपछि कोदो खेती विस्तारका लागि किसानलाई प्रोत्साहन गर्ने किसिमका योजनाहरु रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।