• ८ साउन २०८१, मङ्गलबार

प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न निर्देशन

blog

काठमाडौँ,  साउन ८ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ । जल तथा मौसमविज्ञान विभागको निरीक्षणपछि उहाँले जनताको जिउधनको सुरक्षालाई  प्राथमिकतामा राखेर विभागले सेवा  प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हो ।

“जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराई आ–आफ्ना समस्या छन्, यसको अध्ययन गरेर व्यावहारिक रुपमा जनजीवनमा असर नपर्ने गरी विभाग क्रियाशील हुनुपर्छ,”– मन्त्री खड्काले भन्नुभयो । उहाँले विकास निर्माणसँग जलवायु परिवर्तन र यसका असर न्यूनीकरणलाई ध्यानमा राखी जल तथा मौसम पूर्वानुमानलाई समयसापेक्षित रुपमा परिमार्जित गर्दै अगाडि लैजानुपर्ने उल्लेख गर्नुभयो ।

विकास निर्माणको कामलाई असर नपर्ने गरी विभागले खोज र अनुसन्धानलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । मन्त्री खड्काले कर्मचारीको मूल्याङ्कन कार्यसम्पादनको आधारमा हुने भएकाले कर्मचारीलाई निर्भीक भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले विभागका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसमसम्बन्धी हालसम्म कुनै पनि नीति नबनेको बताउनुभयो । उहाँले जल तथा मौसमविज्ञान विभागको कार्य प्रकृति विशुद्ध प्राविधिक भएकाले रिक्त दरबन्दी पूर्ति गर्न प्रयास गर्ने बताउनुभयो ।

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले स्थान र समय विशेषको मौसम पूर्वानुमानको माग जनस्तरबाट आए पनि त्यसलाई सम्बोधन गर्न नसकिएको बताउनुभयो ।

विसं २०१९ मा जलस्रोत सर्वेक्षण एकाइमार्फत देशको मौसमका बारेमा जनतालाई सुसूचित गर्न थालेको विभागले हाल हवाई मौसम पूर्वानुमान, तीन दिने मौसमी विवरण, प्रत्येक साता कृषि बुलेटिन, बाढी पूर्वानुमानका साथै प्रभावमा आधारित मौसम पूर्वानुमान गर्दै आएको छ । रासस