• २३ पुस २०८१, मङ्गलबार

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सञ्चालनमा

blog

मकवानपुर, साउन  ८ गते ।  काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । 

राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो । 

कान्ति लोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–७ न्यासुरमा राति गएको पहिरो हटाई आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले राससलाई जानकारी दिनुभयो ।

यसैबीच, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौँतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । रासस