• ८ साउन २०८१, मङ्गलबार

जितेन्द्रको सपना त्रिशूलीमै बग्यो

blog

सिंगबहादुर थापा 

बरहथवा (सर्लाही),  असार ८ गते ।  गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप¥यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ । 

सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का (हाल बेपत्ता) साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो । 

जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू घर आउँदै गरेको परिवारलाई जानकारी गराएका थिए । परिवारसँगको त्यही संवाद जितेन्द्रको अन्तिम संवाद बन्यो । करिब आठ वर्ष पहिला पनि उनी वैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । २८ वर्षका उनको श्रीमती दुई छोरी र एक छोरा छन् । 

आर्थिक सङ्कटबाट गुज्रिरहेको जितेन्द्रको परिवारमा यस घटनाले ठूलो बज्रपात गराएको छ । पाँच धुर घडेरीमा बनेको फुसको घरमा उनका बुबा, ठूलोबुबा र आफ्नो समेत गरी १७ जनाको परिवारले मुस्किलले ओत लागेको छ । भतिजोले विदेशबाट कमाएर परिवार पाल्छु भनेको ठूलो बुबा सरपलाल महरा सम्झन्छन् । 

पीडित परिवार अझै उनीहरु फर्किने आशमा बसिरेका छन् । बेपत्तामध्ये बरहथवा नगरपालिका–३, माझी टोलाका १८ वर्षका रमित कुशवार माझी र जितेन्द्र रामको मात्र शव फेला परेको हो । रामनगर गाउँपालिका–३, का रामा दास र कविलासी नगरपालिका–८, का रवीन्द्र साहको अझै अत्तोपत्तो छैन् । यतिका दिन भइसक्दासमेत फेला नपरेका उनीहरु जीवित फेला पर्ने परिवारले आश मारिसकेका छन् । 

बेपत्ता रामा दासको बुबा शुक्रबार मात्र मलेसियाबाट चितवन आएर छोराको लास भेटिने आशमा कुरिरहेका छन् । उनी १० वर्षदेखि मलेसियामा रोजगारीको सिलसिलामा हुनुहुन्थ्यो भने उनका दाजुसमेत वैदेशिक रोजगारीको लागि मलेसियामै छन् । गाउँघरमा ट्र्याक्टर जोत्ने लगाएको काम गर्ने रामा पनि पछिल्लो समय राम्रो कमाईको लागि भन्दै वैदेशिक रोजगारीको तयारीमा थिए । 

उनलाई मेनपावर कम्पनीले कागजात मिलाउन भन्दै काठमाडौँ बोलाएको आमा बताउनुभयो । घटनाको जानकारी पाए लगत्तैबाट मुर्छा पर्नुभएकी उहाँले मलीन अनुहारमा छोराको लासमात्र भए पनि खोजी दिन आग्रह गर्नुभयो । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएको परिवार जितेन्द्रको मृत्युपछि थप सङ्कटमा परेको छ ।

बरहथवा नगरपालिका–३, रमित कुश्वार माझीको परिवारमा पनि आँखा ओभानो छैन । परिवारका जेठा छोरा गुमाउनु पर्दा असह्य पीडा भएको बुबा रवीन्द्र कुश्वार माझीले बताउनुभयो । गाउँमा मेलापात गरेर बसिरहेका रमित गत तिहार पछिमात्र साथीको पछि लागेर काठमाडौँ गएका थिए । त्यसपछि पनि उनी धेरै पटक घर आउनेजाने गरेका थिए । त्यस दिन पनि गाउँमा आफन्त पर्नेको विवाहमा सरिक हुन भनेर रमित बस चढेका थिए ।

सुरुमा सर्लाहीका लागि टिकट काटेका कविलासी नगरपालिका–८, निवासी २४ वर्षका रवीन्द्र साहलाई पनि काउन्टरवालाले रौतहटको बसमा चढाई दिएका थिए । रवीन्द्रका परिवार अझै बेहोसमै बरबराइरहेका छन् । परिवारका केही सदस्यले चितवनको अस्पताल कुरेको हप्तादिन बढी भइसक्यो । यता सास वा लासको अत्तोपत्तो नहुँदा परिवारमा थप पीडा भएको छ ।  

गत असार २८ गते झिसमिसेदेखि एकनासले सामाजिक सञ्जालमा पहिरोसँगै त्रिशूलीमा बस खसेको समाचार आइरह्यो । जितेन्द्रको परिवारको कानमा पनि उक्त घटनाको सूचना प¥यो । पहिले उनीहरु अन्योलमा परे । पछि सोधीखोजी गर्दा जितेन्द्र सवार बस पनि खसेको पुष्टि भयो । 

घरमा रुवावासी सुरु भयो । के गर्ने न कसो गर्ने अन्योलबीच जितेन्द्रका ठूलोबुबा सरपलाल महरा चितवन दुर्घटनास्थलतर्फ लागे । घटनाको दोस्रो दिन जितेन्द्रको शव त्रिशूलीमा फेला परेको खबर उनले पाए । लगत्तै उनीहरु लास राखेको भरतपुर अस्पताल पुगे । दुई दिनसम्म पानीले ढाडिएको लास चिन्न गाह्रो हुने अवस्था भइसकेको थियो । 

जितेन्द्रको हुलियासँग मिल्दोजुल्दो हुलियाको रौतहटकै एक युवकको समेत ‘रेकर्ड’ भएपछि प्रहरीलाई समेत शव चिन्न गाह्र्रो भयो । त्यसपछि उताको समेत परिवारलाई प्रहरीले अस्पताल झिकायो । त्यसबेला जितेन्द्रका ठूलोबुबाले आफ्नो भतिजो र रामा दासले २७ गते राति बनाएको अन्तिम टिकटक भिडियो प्रमाणका रुपमा पेस गरे । 

प्रहरीले समेत भिडियोमा भएको कपडा तथा जुत्ताबाट जितेन्द्रको शवको यकिन सनाखत ग¥यो । प्रहरीले शव दिएपछि उनलाई अर्को आपत् आइलाग्यो । भतिजोको शव ल्याउन शववाहनले रु १७ हजार मागेपछि उनी छाँगोबाट खसेजस्तै भए । गोजीमा एक बोतल पानी किन्ने पैसा नभएका उनका लागि त्यति ठूलो रकम पहाड बनेर उभियो । शवसँगै बसेर रुँदै गुहार मागेको सरपलाल बताउनुहुन्छ । एक व्यक्तिले शववाहनलाई सर्लाहीसम्म आइपुग्नका लागि तेल हाल्न भनेर रु आठ हजार दिएपछि उनी रातारात भतिजोको शव लिएर सर्लाही पुगेका थिए । अब काजक्रिया कसरी गर्ने चिन्ताले परिवारलाई सताएको छ । रासस