• ८ साउन २०८१, मङ्गलबार

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि

blog

सुदूरपश्चिम प्रदेश सभा । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, साउन ८ गते । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका एक चौथाइ प्रदेश सभा सदस्यको मागमा प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आह्वान गर्नुभएको हो । 

विशेष अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । विशेष अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले पठाउनुभएको अधिवेसन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि अध्यादेशबाट बजेट ल्याउने उद्देश्यसाथ चौथो एवम् बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

साउन ३ गते चौथो अधिवेशन अन्त्य गर्नुभएका प्रदेश प्रमुखले त्यसको भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गर्नुभएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने बाटो बन्द भएको थियो । सुदूरपश्चिम प्रदेशमा अहिले बजेट शून्यता छ । बजेटबिनै प्रदेश सरकारको कामकाज चलिरहेको छ ।