• ८ साउन २०८१, मङ्गलबार

साहित्यकार किञ्जल्कको निधन

blog

एक सय चार वर्षीय साहित्यकार गोपाल वैद्य ।

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ८ गते । कास्कीको पोखरा महानगरपालिका १, भैरवटोल निवासी एक सय चार वर्षीय साहित्यकार गोपाल वैद्यको सोमबार राती निधन भएको छ । आयुर्वेदका ज्ञातासमेत रहनुभएका उहाँ ‘किञ्जल्क’ नामबाट नेपाली र संस्कृत साहित्य लेख्नुहुन्थ्यो ।

वि.सं. १९७७ वैशाखमा जन्मिनुभएका वैद्यका श्रीमती, चार छोरी र छोरा छन् । सेती नदी किनार रामघाटमा मङ्गलबार वैद्यको दाहसंस्कार गरिएको छ । उहाँले संस्कृत साहित्यमा मध्यमा पास गरी औषधी विज्ञानमा स्नातक गर्नुभएको थियो । नेपाल संस्कृत विश्वविद्यालयले उहाँले लेखेका पुस्तकलाई पाठ्यक्रममा राखेको छ । 

राजनीतिमा रुचि नराखे पनि उहाँ २००७ सालको क्रान्तिताका बागलुङ जनसरकारमा स्वास्थ्यमन्त्री बन्नुभएको थियो । २००७ सालको क्रान्तिमा बागलुङमा ओमप्रसाद गौचनको नेतृत्वमा जनसरकार बनेको थियो । 

उहाँका प्रमुख कृतिहरुमा सूक्ति–मुक्ताहरु, हिमाद्रि–महिमा पद्याऽमृतम् छन् । उहाँले गत वर्ष लेखनाथ  सावित्री पुरस्कार र दैवज्ञयराज न्यौपाने साहित्य  पुरस्कार पाउनुभएको थियो ।