• ८ साउन २०८१, मङ्गलबार

पहिरोले दलित बस्ती जोखिममा

blog

मेलम्ची नगरपालिका–५ दलित बस्ती पहिरोका दृश्य ।

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ८ गते । मेलम्ची नगरपालिका–५ सिन्धुकोटको गोल्फुले टोलको दलित बस्ती माथिबाट आएको पहिरोले दर्जनौ घर उच्च जोखिममा परेको छ । त्यसमध्ये नौ घर उच्च जोखिममा रहेकाले तत्काल नै बस्ती स्थानान्तरण गर्नु पर्ने देखिएको छ । 

गएराती पहिरो आएपछि घर छाडेर दलित बस्तीका वासिन्दाहरु सुरक्षित स्थानमा सरेका छन् । मानवीय क्षति नभएपनि दलित समुदायको दुई लाख बढीको भैँसी, गाई लगायतको चौपाया पुरेको स्थानीय दिपक आलेमगरले जानकारी दिनुभयो ।

शिव सार्कीको घरमा क्षति पुगेको छ । सुकुमान मिजार, शुभान मिजारको घरको गोठमा भैँसी, गाईलाई पहिरोले पुरेको छ । दलित समुदायका बस्तीमुनि पनि पहिरो चल्न थालेको छ। बस्ती माथिको डाँडा पहिरो आएको कारण दलित समुदायको बिचल्ली भएको छ । पहिरो घर, गोठ, चौपाया गरी १० लाख बराबरको क्षति पुगेको छ । 

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ लगायतको सुरक्षाकर्मीहरु दलित बस्ती पुगेका छन् । पहिरो प्रभावितहरुको सुरक्षामा लागिरहेको प्रमुख तामाङले बताउनुभयो । पहिरो प्रभावित दलित बस्तीमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीयहरुको सक्रियतामा खाद्यन्न, लत्ताकपडा, चौपाया, भाँडावर्तन सारिएको छ । 

प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रमुख तामाङले जानकारी दिनुभयाे ।