• ८ साउन २०८१, मङ्गलबार

सिङ्गा तातोपानी कुण्डमा सन्ध्याकालीन आरती

blog

सन्ध्याकालीन आरती गरिँदै । तस्बिर ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन ८ गते । उपचार र मनोरञ्जनका लागि तातोपानी कुण्डमा आउने पर्यटकहरूलाई लक्षित गरेर सन्ध्याकालीन आरती सुरु गरिएको छ । प्राकृतिक उपचारका रूपमा प्रसिद्ध म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालीन आरती सुरु गरिएको हो ।  

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको पहिलो सोमबार पारेर  सन्ध्याकालीन आरती सुरु गरेको हो । हरेक सोमबार साँझ नियमित रूपमा आरती गरिने समितिका सचिव कुमार केसीले बताउनुभयो । 

“बागलुङबाट जनशक्ति ल्याएर अहिले हरेक हप्ताको सोमबार साँझ आरती गर्न सुरुवात गरेका छौं,” उहाँले भन्नुभयो “प्राकृतिक उपचार र पर्यटकीय स्थल तातोपानीलाई धार्मिक रूपमा पनि प्रवर्द्धन गर्न स्थानीय जनशक्ति तयार पारेर आरतीलाई निरन्तरता दिन्छौं ।”

म्याग्दी नदीको किनारमा शिव मन्दिर र तातोपानीको कुण्ड परिसरमा भजन कीर्तन र धार्मिक विधि अनुसार आरती गर्ने व्यवस्था मिलाइएको छ । तातोपानी कुण्डमा स्नान गरेर उपचार तथा मनोरञ्जनका लागि आउने पाहुनाहरूलाई लक्षित गरेर आरती सुरु गरिएको अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । 

जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने यहाँ शरीर डुबाएर स्नानका लागि वार्षिक २० हजारभन्दा बढी पाहुनाहरू आउने गर्दछन् । समितिका अध्यक्ष कृष्ण खड्का र पूर्व अध्यक्ष वीरेन्द्रमान शाक्यले आरतीको शुभारम्भ गर्नुभएको थियो । 

सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललगायत सुरक्षा अधिकारी, बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायत जनप्रतिनिधिको पनि उपस्थिति थियो । 

आरती शुभारम्भको अवसरमा स्थानीयवासी र भक्तजनले भजनकीर्तनसहित नाचगान गरेका थिए । कार्यक्रममा सहभागी बनेपा ४ बास्कुना घर भई हाल न्युजिल्याण्ड निवासी एनआरएनए न्युजिल्याण्डका अध्यक्ष लाल केसीले कुण्डलाई ५१ हजार रुपियाँ सहयोग गर्नुभएको थियो । आरतीका लागि अन्य दाताले पनि सहयोग गर्नुभएको थियो ।