• ८ साउन २०८१, मङ्गलबार

प्रहरी हुँ भन्दै रकम उठाउने क्षेत्री पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ८ गते । प्रहरीको सूचना अधिकारी भएको फर्जी परिचय दिई कुनै काम भए मिलाइदिन्छु भनी रकम माग गर्ने एक जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरीले ह्वाट्स्यप र टेलिग्रामबाट सम्पर्क गरी रकम माग्ने पोखरा महानगरपालिका वडा नम्बर १६, बाटुले चौरका २१ वर्षीय सुजित क्षेत्रीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले सोमबार क्षेत्रीलाई पक्राउ गरी पाँच दिन म्याद थप भई अनुसन्धान जारी छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले काम मिलाइदिन्छु भनी सर्वसाधारणसँग रकम मागेको सूचनाका आधारमा क्षेत्रीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

क्षेत्रीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।