• ८ साउन २०८१, मङ्गलबार

‘कम्युनिस्ट र प्रजातान्त्रिक शक्ति मिल्दा राजनीति सङ्लिन्छ’

blog

विराटनगर समाचारदाता

विराटनगर, साउन ८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कम्युनिस्ट र प्रजातान्त्रिक शक्ति मिल्दा धुमिलिएको राजनीतिलाई सङ्लो बन्ने बताउनुभएको छ । पुष्पलाल स्मारक समिति विराटनगरले सोमबार आयोजना गरेको पुष्पलाल स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालले खेलेको भूमिका र सङ्घर्षकै कारण राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको हो । उहाँले कम्युनिस्ट आन्दोलन र समाज रुपान्तरणका लागि पुष्पलालको योगदान अतुलनीय रहेको पनि बताउनुभयो । 

वामपन्थी र प्रजातान्त्रिक पार्टी मिलेर निरङ्कुशता ढाल्नु पर्छ भन्ने विचार पुष्पलालको भएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसकै जगमा २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको जनआन्दोलन सफल बनेको बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले अहिले कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था राजनीतिक प्रणालीको उपज भएको बताउँदै परिवर्तनका लागि वामपन्थी र प्रजातान्त्रिक दल मिल्नु समयको आवश्यक्ता भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो सहकार्यले संविधानलाई अझ परिस्कृत पार्दै राजनीतिलाई सङ्ल्याउँदै लैजान योगदान गर्ने बताउनुभयो । 

कार्यव्रmममा १०१ वर्षीय वामपन्थी कार्यकर्ता नरबहादुर लिम्बूलाई १० हजार नगदसहित सम्मान गरिएको थियो । यसै गरी पुष्पलाल स्मारक समितिले आयोजना गरेको खुला कविता प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरिएको थियो । 

प्रतियोगितामा प्रथम हुने मोरङकी कवि लक्ष्मी रायमाझी, द्वितीय हुने नुवाकोटका सुजन डोटेल तृतीय हुने विराटनगरकी रिता पाठक तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेहरू सुनसरीका युवराज दाहाल र विराटनगरकी लक्ष्मी घिमिरे रेग्मीलाई पुरस्कार वितरण गरिएको थियो । 

उदयपुरमा पनि मनाइयो स्मृति दिवस

यसैबिच गाईघाट समाचारदाताका अनुसार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस सोमबार उदयपुरमा विभिन्न कार्यव्रmमको आयोजना गरी मनाइएको छ । त्रियुगा नगरपालिका–८, त्रिवेणीमा रहेको स्मृति (पुस्पलाल) पार्कमा वृक्षरोपण कार्यक्रमको आयोजना गरेर पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइएको नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताउनुभयो ।

नेकपा एमाले त्रियुगा नगर कमिटी र राष्ट्रिय युवा सङ्घ नेपाल उदयपुरको संयुक्त आयोजनामा भएको कार्यव्रmममा नेकपा एमाले पोलिटब्युरो सदस्य मञ्जुकुमारी चौधरी, कोशी प्रदेश सभाकी सांसद गीता रेग्मी, नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य ईश्वरीमणि राउत, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलगायतको उपस्थितिमा वृक्षरोपण गरिएको थियो । कार्यक्रममा धुपी, रुद्राक्ष, अम्बा, अशोकलगायत विभिन्न जातका फूल रोपिएको अध्यक्ष राउतले बताउनुभयो ।

वृक्षरोपण पछि आयोजित अन्तव्रिर्mया कार्यक्रमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले आफ्नो व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउनुका साथै अभावैअभावमा बाँच्नु र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उहाँले राष्ट्र र जनताप्रति पु-याएको निष्ठालाई कहिल्यै कमजोर हुन नदिएको भन्दै पुस्पलालको विचार नै नेकपा एमालेको सिद्धान्त भएकाले पुष्पलालका विचारलाई व्यवहारमा लागु गरेर समाज रूपान्तरणमा लाग्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

अध्यक्ष राउतले विसं २००६ वैशाखमा चार जना साथी नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उहाँले पहिलो पटक भारतको कोलकातामा बसेर नेकपा स्थापना गर्नुभएको र नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको उहाँले नै नेपालीमा अनुवाद गर्नुभएको जानकारी दिनुभयो ।