• ८ साउन २०८१, मङ्गलबार

प्रभावकारी भएन नदी नियन्त्रण

blog

तानसेन, साउन ८ गते  । तिनाउ नदी नियन्त्रण प्रभावकारी नहुँदा पाल्पा माडीका किसान धान खेती भित्र्याउनबाट वञ्चित भएका छन् ।  तिनाउ नदीको मुहान रम्भादेखि माडीफाँट सिमलघाँटसम्म सात किलोमिटरमा बगेको नदीलाई व्यवस्थित गर्न नसक्दा माडीका किसानले हरेक वर्ष धान स्याहार्नबाट वञ्चित भएका हुन् । 

तिनाउ नदी नियन्त्रण प्रभावकारी नबन्दा हरेक वर्ष खेतीयोग्य जमिन कटान हुने गरेको छ । यस्तै नदीले धार परिवर्तन गर्दा धानखेत बगरमा परिणत भएको छ । माथागढी–३ स्थित बगुवा क्षेत्रबाट तीन वर्षअघि धान खेतमा नदी पस्यो । त्यसबेला पसेको नदीका कारण आफूले तीन वर्षदेखि धान रोप्न नपाएको स्थानीय किसान रिकेस कुमालले बताउनुभयो । 

धान खेतमा पसेको नदीले खेत बगर बनाएपछि धान रोप्न नपाएको उहाँको गुनासो छ । तिनाउ नदीले माडीफाँटका दर्जनौँ स्थानमा हरेक वर्ष कटान गर्छ । यस्तै विभिन्न स्थानबाट नदीले धार परिवर्तन गर्दा खेतीयोग्य जमिन बगर बनेको छ । 

हरेक वर्ष पाँच सय रोपनीभन्दा बढी खेतीयोग्य भूभाग नदीले बिगार्ने गरेको किसानको भनाइ छ । माडीफाँटमा तिनाउ नदीले मात्र होइन, तिनाउ नदीसँग जोडिएका साना खहरे खोलाका कारण पनि किसानलाई समस्यामा पारेको माथागढी–१ का वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “तिनाउ नदीले मात्र होइन, तिनाउमा मिसिन आउने खहरे खोलाले पनि खेत बगाएको छ ।”

तिनाउ नदी नियन्त्रणका लागि हरेक वर्ष बजेट परे पनि पर्याप्त बजेट नपरेका कारण माडीफाँटका किसानले सोचे अनुसार नदी नियन्त्रण प्रभावकारी बन्न सकेको छैन । नदीले माडीफाँटमा छुने सात किलोमिटर क्षेत्रमा पटक पटक नदी नियन्त्रण गर्न माग भए पनि सरकारी निकायबाट योजना पर्न सकेको छैन । नदी नियन्त्रणका लागि भनेर हरेक वर्ष काम हुन्छ तर त्यो प्रभावकारी हुन सकेको छैन । तिनाउ नदी नियन्त्रणका लागि विस्तृत योजना बनाएर काम नगर्दा समस्या आएको बगनासकाली–२, पोखराथोकका किसान दीपेन्द्र ढकालले बताउनुभयो । माथिल्लो भेगबाट बग्ने गेग्रान निकाल्ने र पूरै नदीलाई व्यवस्थित बनाउने योजना अहिलेसम्म आउन नसकेको उहाँको भनाइ छ । 

नदी नियन्त्रणका लागि स्थानीय सरकारले कुनै व्यवस्थित योजना बनाउन सकेको छैन । प्रदेश र सङ्घीय सरकारको खासै चासो नभएको स्थानीय किसान पोमबहादुर रानाको गुनासो छ । जिल्लास्थित भू तथा जलाधार कार्यालयका निमित्त प्रमुख सरोज पोखरेलले तिनाउ नदीलाई व्यवस्थित बनाउन बजेट अभाव रहेको बताउनुभयो ।