• ८ साउन २०८१, मङ्गलबार

सेयर बजारमा हरियाली

blog

लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा नयाँ सरकार गठनसँगै सुधार आएको छ । ठुलो मात्रामा सेयर कारोबार गर्दै आएकाहरू निराश भइरहेको अवस्थामा सरकार परिवर्तनपछि उत्साह वृद्धि भएको हो । कतिपयले सेयर कारोबारबाटै राम्रो आम्दानी गरेर सुखद जीवन निर्वाह गरिरहेको अवस्थामा निरन्तर ओरालो लागेको  बजारका कारण मर्नु न बाँच्नुको स्थितिमा पुगेका थिए । यसअघि २०७८ भदौमा सम्पूर्ण परिसूचकमा वृद्धिसहित बजारमा उच्च कारोबार भएको थियो ।

दुई हजार विन्दुबाट तल झरेको बजार नयाँ सरकार बनेपछि विस्तारै बढेर केही दिनमै २५ सय विन्दुनजिक छ । सरकारले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सकारात्मक सम्बोधन गरिने अभिव्यक्ति दिनुभएका कारण लगानीकर्तामा उत्साह वृद्धि भएको अनुभूत हुन्छ ।  साउनको पर्यावरण जस्तै  बजारमा हरियाली छाउँदै आएकाले पहिलेकै लयमा फर्किने कतिपयको अपेक्षा छ ।

केन्द्रीय बैङ्कले मौद्रिक नीतिमार्फत विगतमा सेयर बजारलाई कस्ने नीति अख्तियार गर्दा बजार ओरालो लागेको कतिपयको विश्लेषण छ । सम्बद्ध राजनीतिक नेतृत्वको अभिव्यक्तिले केन्द्रीय बैङ्कद्वारा जारी गरिने अबको मौद्रिक नीति सेयर बजारमैत्री आउने विश्वास लगानीकर्तामा देखिएको छ । प्रधानमन्त्री ओलीले नै वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाणका रूपमा सेयर बजारमा देखिएको उत्साहलाई लिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने व्रmममा अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा हरियाली छाउनुको कारण राष्ट्रिय सरकारप्रति आमनागरिकले भरोसा रहेर हो भन्नुभयो ।

प्रधानमन्त्रीले ५० लाखभन्दा बढी सेयर बजारका लगानीकर्ता संलग्न भएको यो बजार निरन्तर सुधारिएर नेप्से २७ महिनायताकै उच्च बिन्दुमा पुग्नु उत्साहजनक भएको भन्दै सेयर बजार मात्रै नभएर देशको समग्र आर्थिक परिसूचक चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको कार्यकारी प्रमुखले संसद्मा राख्नुभएका अभिव्यक्तिले पनि सेयर बजारमा आशा जगाएको अनुमान हुन्छ । 

यसै गरी नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार सेयर बजारप्रति सकारात्मक रहेको बताउनुभएको छ । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका पदाधिकारीसँगको गत मङ्गलबारको भेटमा सेयर बजारको विकास र स्थायित्वमा लागि अर्थमन्त्रीको हैसियतले सव्रिmयतापूर्वक पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । सेयर बजार अर्थतन्त्रको ऐना भएको स्पष्ट पार्नुका साथै यो बजार अनुकूल परिस्थिति बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । लगानीकर्तामा उत्साह जागृत गराउन उहाँका अभिव्यक्ति भरोसायोग्य ठानिएका हुन् । अर्थमन्त्री पौडेललाई पुँजी बजारप्रति सकारात्मक धारणा राख्ने अर्थशास्त्रीका रूपमा लिने गरिएको छ । विगतमा पनि उहाँ अर्थमन्त्री हुँदा सेयर बजारमा उत्साह देखिएको स्मरणीय छ । 

नेपाल राष्ट्र बैङ्कले सरकार परिवर्तनपछिको पहिलो मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा लगानीकर्ताले सेयर बजारतर्फ पनि सम्बोधन हुने अपेक्षा गरेका छन् । केन्द्रीय बैङ्कले सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेकै कारण २८ महिनाअघि सेयर बजारमा उछाल आएको थियो । दैनिक अर्बौं रुपियाँको कारोबार हुने यो बजारलाई चलायमान बनाउँदा समग्र अर्थतन्त्रमा सुधार आउने अर्थशास्त्रीहरूको बुझाइलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ ।

सरकार परिवर्तनपछि लगातार सुधारको बाटोमा रहेको सेयर बजारले आइतबार २५ सयको बिन्दु पार गरे पनि पछि सामान्य तल झरेर थामिएको छ । नेप्से परिसूचक दैनिक बढेको छ र आइतबार सामान्य तलमाथि भएको छ । कारोबार रकम १६ अर्ब रुपियाँ पुग्नु बजारप्रति उच्च आकर्षण हो ।  त्यसो त बजारमा सामान्य करेक्सन भने भइरहन्छ । सोमबारको कारोबारमा त्यस्तै देखियो । बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक वृद्धि भएकोमा पछि पुनः समालिएको छ । बैङ्कहरूमा तरलता वृद्धि भएर निरन्तर रूपमा घटाएको कर्जा र निक्षेपको ब्याजदर तथा अर्थतन्त्रले बिस्तारै लय लिँदै गरेका तथ्याङ्क सार्वजनिक भइरहँदा सेयर बजारले लय समाएको जानकारको बुझाइ छ ।

सरकार सेयर बजारप्रति उदार हुने प्रधानमन्त्री र अर्थमन्त्रीका अभिव्यक्तिले देखाएको छ भने राष्ट्र बैङ्कका गभर्नरले पनि अर्थतन्त्र चलायमान बनाउन लचिलो मौद्रिक नीति ल्याउने तयारी देखिँदै गएको छ । सेयर बजार मात्र माथि गएर हुँदैन; अर्थतन्त्रका वास्तविक क्षेत्रमा सुधार आउँदै लगानी, आय, उत्पादन र रोजगारीमा समेत वृद्धि हुनु पर्छ; अनि मात्र सेयर बजार सुधारले स्थायित्व प्राप्त गर्न सक्ने छ । अर्थतन्त्रले सही गति लिने छ । अन्यथा सेयर बजारको मात्र सुधार कुनै बेला पानीको फोका सरह फुट्ने जोखिम हुन्छ ।