• ८ साउन २०८१, मङ्गलबार

राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : उपमहासचिव ज्ञवाली

blog

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली प्रेस चौतारी नेपाल गुल्मीले सोमबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, साउन ७ गते । 
नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन गरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल गुल्मीले सोमबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले देशमा राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन गरेको बताउनुभएको हो । एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट बनेको सरकारले देशमा राजनीतिक स्थायित्व कायम गर्ने उहाँले दाबी गर्नुभएको छ ।

संविधानलाई आवश्यक परेमा समय अनुसार संशोधन गर्ने गरी वर्तमान गठबन्धनबिच  सहमति भएको उहाँको भनाइ छ ।  देशमा अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी वर्तमान सरकार लाग्ने उहाँले दाबी गर्नुभयो ।

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म नै टिक्ने र देशमा राजनीतिक स्थिरता कायम गर्ने गरी दुई दलबिच सहमति भएकाले सहमति कार्यान्वयन हुने उहाँले बताउनुभयो । एमाले र कांग्रेसबिच भएको सहमतिलाई अक्षरसह पालना गर्ने पक्षमा एमाले रहेको उहाँको भनाइ छ ।

सोमबार नै एमालेको १२ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्लाका पदाधिकारीहरूलाई ज्ञवालीले शपथ ग्रहण गराउनुभएको छ । साथै जिल्लाको प्रथम बैठक पनि  सोमबार नै भएको जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी  दिनुभयो   ।