• ७ साउन २०८१, सोमबार

समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्छ : सांसद गौतम

blog

राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतम राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ७ गते । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य गौतमले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान र मर्मसँग बाझिएका ऐन कानुनमा पुनः विचार गरी बन्न बाँकी ऐन कानुन समयमा नै निर्माण गर्न सक्नुपर्ने बताउनुभयो ।

सांसद गौतमले लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ संविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

उहाँले अब सरकारले पुराना ऐनलाई संशोधन गर्न जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले लामो र प्रक्रियागत झण्झटलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘संविधान र मर्मसँग बाझिएका ऐन कानुनमा पुनर्विचार गरी बन्न बाँकी ऐन कानुन समयमा नै निर्माण गर्न सक्नुपर्नेछ तर लोकतान्त्रिक गणतन्त्र स्थापना भई नयाँ संविधान लागू भएको अवस्थामा पनि पञ्चायत व्यवस्थामा बनेका ऐन कार्यान्वयन भइरहेको अवस्था छ ।’’ सांसद गौतमले भन्नुभयो, ‘‘पुराना ऐनलाई संशोधन गर्नु जरुरी छ । त्यसतर्फ सम्बन्धित निकायहरूको ध्यान जान जरुरी छ । लामा र प्रक्रियागत झण्झटलाई सुधार गरी सरकार समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्न लाग्नुपर्छ ।’’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले धेरै विकासको आशा गरेको बताउनुभयो ।