• ७ साउन २०८१, सोमबार

‘संविधान संशोधनका लागि सबै दलसँग छलफल हुन्छ’

blog

काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल गर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल र परामर्श गर्ने बताउनुभएको हो । उहाँले संविधान संशोधन लहडको विषय नभएको भन्दै समयको माग र देशको आवश्यकताको लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘संविधान संशोधनको विषय कसैको लहडको विषय होइन । यो समयको माग, देशको आवश्यकताका लागि हो । वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जीवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउन सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल र परामर्श गर्दै यस कार्यलाई अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।’’

उहाँले वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जीवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउन संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, प्रधानमन्त्री ओलीले महाकाली कोरिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिंकर खण्डमा ८० प्रतिशत कडा चट्टान रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भई निर्माण कार्यमा कम समय लाग्ने र कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनामार्फत कार्यान्वयन भइरहेको जानकारी दिनुभयो ।

उहाँले छुट्टै बजेट शीर्षकको सन्दर्भमा रक्षा मन्त्रालय (नेपाली सेना) बाट कार्यान्वयन भइरहेको तराई–मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकहरूमा छुट्टै बजेट उप–शीर्षक कायम नभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘यथेष्ट बजेट विनियोजनका सन्दर्भमा भने बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास दिलाउन चाहन्छु ।’’

सङ्घको कार्यक्षेत्र रहेका सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा सिँचाइ र नदी नियन्त्रणका कार्यहरू प्रभावकारी रूपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तटबन्ध निर्माण कार्यान्वयन एवम् आवश्यक अनुगमनका लागि सम्पर्क कार्यालय र केही प्रविधिहरू दार्चुलामा पनि राखिएको छ । साथै बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने जानकारी गराउन चाहन्छु ।’’