• २० माघ २०८१, आइतबार

पोलियोविरुद्ध विशेष सतर्कता

blog

नेपालमा सन् २०१० सेप्टेम्बरपछि पहिलो पटक काठमाडौँमा पोलियोको खोपबाट उत्पन्न टाइप तीन भाइरस (विषाणु) भेटिएको छ । निष्क्रिय तर जीवित भाइरस रहेको खोपमा लाखौँ बालबालिकाले सेवन गर्दा एक जनामा आन्द्रामा उत्परिवर्तित हुन सक्ने हुन्छ ।  १० भन्दा बढी न्युक्लाटाइड परिवर्तन हुँदा संवेदनशील मानिन्छ । १३ जेठमा सङ्कलित नमुनामा जनस्वास्थ्य प्रयोगशालामा प्रासेसिङ तथा बैङ्ककको नेसनल इन्स्टिच्युट अफ हेल्थको सेल कल्चरलगायत प्रयोगशाला परीक्षण गर्दा २९ असारमा प्राप्त रिपोर्टमा यो पुष्टि भएको हो । त्यसपछिको अर्काे २२ जेठको नमुना नकारात्मक र थप अर्काे ४ असारको परिणाम आउन बाँकी छ ।

मानिसमा सन् २०१० पछि केस नदेखिएपछि विश्व स्वास्थ्य सङ्गठनबाट पोलियोमुक्त देश घोषणा २०१४ मा भएको छ र त्यसको १० वर्षपछि वातावरणमा भाइरस देखिएको छ । सन् २०१७ देखि उपत्यकाको पाँच स्थानबाट पाक्षिक र सन् २०२३ पछि उपत्यका बाहिर विराटनगर, जनकपुर र पोखराबाट मासिक एक एक स्थानबाट नमुना सङ्कलन र परीक्षण गरिँदै आएको छ । उपत्यकाको वातावरणमा पोलियो भाइरस देखिएपछि पाँच वर्षमुनिका दुई लाख ८० हजार बालबालिकाका लागि साउन ९ देखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान चलाइँदै छ । घरघरमा पुगी दिइने खोपका अतिरिक्त १५ वर्षमुनिका बालबालिकामा विगत दुई हप्तामा अति शीघ्र लुलो पक्षाघात भए नभएको र नियमित खोप लाए नलाएको समेत खोज गरिँदै छ ।

भाइरस सर्ने माध्यम

आरएनए पोलियो भाइरसको कारणले हुने पोलियो रोग फोहोरी वातावरण, दूषित खाना र पानीको प्रदूषण आदिका कारण मुख्यत मानिसको खाद्य तथा पाचन प्रणालीमा सङ्व्रmमण हुन्छ । आन्द्रामा सङ्ख्यात्मक वृद्धि भई दिसाबाट बाहिरिएर वातावरणमा फैलिन्छ र अन्यमा सर्छ । भाइरसले केन्द्रीय स्नायु प्रणालीलाई असर पारी विभिन्न स्तरका पक्षघात जस्तै लुलो र विकलाङ्ग गराउन सक्छ । भाइरस बाह्य वातावरणमा धेरै समयसम्म बाँच्न सक्छ, चिसो वातावरणको पानीमा चार महिनासम्म र दिसामा छ महिनासम्म बाँच्न सक्छ । विषाणु सङ्क्रमित व्यक्तिको दिसा, मुख, घाँटीका र्‍याल र स्रावहरूमा पाइन्छन् । 

भाइरस जमिनको सुक्खा भाग तथा पानी जम्ने ठाउँमा पाइन्छन् । त्यसैगरी महिला सुत्केरी हुने अन्तिम बेलातिर भाइरसले पेटमा रहेको बच्चालाई सङ्क्रमण गर्न सक्ने बढी सम्भावना रहन्छ । यो रोग वर्षायाममा बढ्ने गर्छ । दूषित वातावरणले यस रोग बढ्नमा थप प्रश्रय दिने गर्छ । रोग लाग्ने मुख्य कारणमा पोलियो सङ्क्रमित बच्चाले औँला चुस्ने बानी गर्नाले र त्यस्तै खोक्दा, हाँछ्यु गर्दा, स्वस्थ बच्चामा सर्छ । पोलियो भाइरसका तीन उपजातिमध्ये पहिलो उपजातिले धेरै जसो महामारी निम्त्याउँछ । 

लक्षण तथा चिह्न

रोग प्रायः पाँच वर्षमुनिका बालबालिकालाई लाग्ने गर्छ । १५ वर्ष उमेरसम्मकामा यदाकदा देखा पर्छ । पोलियो छ महिनादेखि तीन वर्षभित्रका बच्चालाई बढी देखिन्छ । आमाबाट प्राप्त हुने पक्षाघातविरुद्ध लड्न सक्ने क्षमता करिब छ महिनासम्मलाई मात्र पुग्छ । भाइरसको सङ्क्रमण भएकाले पोलियो भाइरस शरीरभित्र पसेको सातदेखि चौध दिनभित्रमा लक्षण तथा चिह्न देखा पर्छ । ज्वरो आउने, टाउको र जिउ दुख्ने, थकान, गर्धन दुख्ने, नाकबाट सिँगान बग्ने, घा“टी दुख्ने, र वान्ता हुन्छ । कहिलेकाहीँ पखाला लाग्ने, मासंपेशीहरू दुख्ने, पेट दुख्ने पनि हुन्छ । 

बच्चाको हातखुट्टा खुम्चिनु र तन्किन नसक्ने हुन्छ । एक्कासि हात तथा खुट्टा कमजोर वा लुलो हुने, सुक्दै जाने गर्छ । कब्जियत हुनुका साथै पिसाब थैलीले काम गर्न नसक्ने हुन्छ । बच्चा सुतेर उठ्दा टाउको उचाल्न नसक्ने हुन्छ । पोलियोद्वारा प्रभावित अङ्ग, हातखुट्टाको मांसपेशी सुक्दै गएर पक्षघात हुन्छ । गम्भीर लक्षणमा पक्षाघात र मृत्यु पर्छ तर पोलियोमा लुलो हुने कार्य पहिलो तीन दिनपछि वृद्धि हुँदैन र जन्मेदेखि नै बच्चा लुलो हुँदैन । उक्त लक्षण तथा चिह्न देखापर्ने करिब १० दिनअघि र पछिको समय बढी सङ्क्रमण हुन्छ । तसर्थ छिटो सर्ने र लामो असर देखाइने विषाणुले अपाङ्गता नै बनाउँछ ।

रोकथाम 

पोलियो भइसकेपछि निश्चित उपचार छैन । राम्रो स्याहार सुसार तथा लाक्षणिक औषधी उपचार र फिजियोथेरापीबाहेक खासै उपचार नभएकाले रोकथाम गर्नु नै बुद्धिमानी हुन्छ । रोकथाममा व्यक्तिगत सरसफाइ, स्वच्छ खाना र शुद्धीकरण गरेको पानी मात्र खानुपर्छ । 

खोप सेवा बालबालिकालाई रोग लाग्नबाट जोगाउने एउटा आधारभूत स्वास्थ्य सेवा हो । खोप विभिन्न प्रकारका सूक्ष्म जीवाणु एवं कीटाणुको जीवित तथा अर्धमृत सँगालाे हो, जसले सङ्क्रमक रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने र रोग लाग्नै नदिने प्रतिरोधात्मक औषधी हो । यसको सेवनले बालबालिकामा सङ्क्रमण रोगसँग लडी पराजित गर्न सक्ने क्षमता विकास हुन्छ । खोपकै कारण बिफर उन्मूलन भयो, पोलियो करिब निर्मूलको अवस्थामा छ भने अन्य सङ्क्रामक रोगले ल्याउने महामारी पनि तुलनात्मक रूपमा घट्दै छ । विकासोन्मुख मुलुकका पुग नपुग १० लाख बालबालिकाको मृत्यु दादुरा, पोलियो, धनुष्टङ्कार, क्षयरोग, लहरेखोकी तथा भ्यागुते रोगले गराउँछ । यस्ता रोग सानो उमेरमै लाग्ने र रोग लागिसकेपछि कति अपाङ्गता बन्ने तथा कति अकालमै मर्छन् । यस्ता रोगबाट बालबालिकालाई बचाउन खोप दिनैपर्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विस्तारित खोप आयोजनाद्वारा प्रतिपादित खोप तालिका अनुसार निष्क्रिय जीवित भाइरस रहेको ओपिभी पोलियो दुई थोपाको तीन मात्रा बच्चा डेढ महिना भएदेखि सुरु गरी एक-एक महिनाको फरकमा अर्थात् ६, १० र १४ हप्ताको उमेरमा गरी तीन पटक खुवाउनु पर्छ । बच्चा छ महिना पुग्नु अगावै सबै बच्चालाई पोलियो थोपा पूरा मात्रामा खुवाउनुपर्छ । मृत पोलियो भाइरस रहेको आइपिभी खोप दुई पटक १४ हप्ता र नौ महिनाको उमेरमा सुईबाट दिइन्छ । एकदेखि डेढ वर्षपछि थप एक मात्रामा दिन सकिन्छ । नेपालमा पोलियो खोपको कभरेज ९५ प्रतिशत नै रहेको छ । थप मात्राले हानिनोक्सानी नगरी रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अझ वृद्धि गर्छ । ओरल पोलियो भ्याक्सिन अर्काे मान्छेले लगाइसकेका, दिसामार्फत वातावरणमा गई अन्यलाई सुरक्षा दिएको र एक करोड बढीलाई पक्षाघातबाट जोगाएको देखिन्छ । 

खोप अभियान

विश्व स्वास्थ्य सङ्गठनले सन् १९८८ मा रणनीति तयार पारी लागु गर्ने भने पनि सन् १९९६ देखि नेपालले पोलियो रोगविरुद्ध बालबालिकालाई सुरक्षित राख्न नियमित खोप सेवा मात्र नभई राष्ट्रिय पोलियो खोप अभियान सञ्चालन गर्दै आएको छ । सन् २००० मा पोलियो उन्मूलन भएको घोषणा भएपछि सन् २००१ देखि २००४ सम्म रोग तथा रोगी देखा परेनन् । तर २००५ मा तराईमा देखिएपछि पुनः अति जोखिम र तराईका १५ जिल्लामा पाँच वर्षभन्दा मुनिकालाई पोलियो थोपा खुवाउन सुुरु गरिएको थियो ।

सरुवा रोगले राजनीतिक सिमा रेखा नमान्ने भएकाले भारतको बिहार र उत्तर प्रदेशमा रोगको प्रकोप धेरै भएकाले र हामीसँगको खुला सिमानाका कारण नेपाली बालबालिकालाई सुरक्षित राख्न नेपालमा पनि पोलियो खोप अभियान पुनः सञ्चालन गर्नुपर्ने जरुरी ठानियो । पोलियो रोग देखिएका जिल्ला रौटहट, पर्सा र कपिलवस्तुलगायत २० वटा जिल्लामा मात्र नभई अति हिमपात हुने जिल्लामा पनि सन् २०१७ मा खोप विभिन्न चरणमा सञ्चालन गरिएको थियो ।

सन् २०१७ पछि पोलियोको खोप अभियान चलाइएको थिएन । रोग उन्मूलन घोषणा गर्न विगत १० वर्षदेखि मानिस र वातावरण दुवैमा भाइरस नभेटिएको हुन पर्छ । पोलियो उन्मूलन रणनीति सन् २०२२ देखि २६ कार्यान्वयनमा छ । नेपालमा २०६७ असोज १४ देखि मानिसमा पोलियो देखिएको छैन । दक्षिणपूर्वी एसियामा पाकिस्तान र अफगानिस्तानमा मात्र पोलियोका बिरामी भेटिएका छन् ।

असार २९ गते खोप सिर्जित पोलियो भाइरस टाइप तीन फेला परेपछि मानिसमा सङ्क्रमण रोक्न, थप म्युटेसन रोक्न र जोखिम बालबालिकालाई जोगाउन उपत्यकाका तीन जिल्लाका दुई लाख ८० हजारभन्दा बढी बालबालिका लक्षित विशेष खोप अभियान साउन नौ गतेदेखि चार दिनसम्म चल्दैछ । स्थानीय बालबालिका एक लाख ७९ हजार १०८ भए पनि विगत महिनाका खोप अभियानमा दुई लाख २३ हजार ७३७ बालबालिका संलग्न भएकाले त्यसमा केही थप गरी दुई लाख ७९ हजार ६८० लक्षित वर्ग मानी तयारी सम्पन्न भएको छ । खोप ऐन २०७२ ले लक्षित सबैलाई अनिवार्य गरेको छ । 

पोलियो रोगले बालबालिकालाई लुलो र विकलाङ्ग बनाउँछ । पोलियो थोपा खाई पोलियो रोगबाट बच्न पाउनु सबै बालबालिकाको अधिकार हो भने रोगबाट बालबालिकालाई बचाउनु हामी सबैको कर्तव्य र दायित्व हो । सरसफाइमा सचेत बनी समयमै पोलियो थोपा खोप सम्पूर्ण बालबालिकालाई प्रदान गर्न-गराउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी र अभिभावक संलग्न हुनुपर्छ । 

Author

डा. प्रकाश बुढाथोकी