• ६ साउन २०८१, आइतबार

सञ्चारमन्त्री गुरुङसँग अमेरिकी राजदूत थम्सनको शिष्टाचार भेट

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गर्नुहुँदै अमेरिकी राजदूत डिन थम्सन । तस्बिर: सञ्चारमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन ६ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ।

आइतबार सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङसँग राजदूत थम्सनले शिष्टाचार भेट गर्नुभएको हो।भेटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना दिनुभएको उहाँका प्रेस सहयोगी विक्रम न्यौपानेले जानकारी दिनुभयो।

राजदूत थम्सनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनुभयो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्त्वपूर्ण मन्त्रालय भएको उल्लेख गर्नुहुँदै राजदूत थम्सनले नेपालको समृद्धिका लागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताउनुभयो ।

राजदूत थम्सनले प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरेर पूर्व जानकारीका साथै खोज तथा उद्धार गर्न सकिने भन्दै अमेरिका नेपालको साइबर सुरक्षा, पर्यटन सूचनालगायतको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभयो।

उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेश जान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनुभयो ।

भेटमा मन्त्री गुरुङले वर्तमान सरकारको लक्ष्य नै शान्ति र समृद्धि रहेको जानकारी गराउनुहुँदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।

प्राकृतिक विपत्तिबाट नेपाल पीडित भएको जानकारी गराउँदै मन्त्री गुरुङले पर्वतारोहणका क्रममा हुने उद्धार तथा खोजमा सञ्चार सम्पर्क आवश्यक रहेको बताउनुभयो।नेपालले सञ्चार क्षेत्रमा ठुलो फड्को मारेको बताउँदै मन्त्री गुरुङले यो पर्याप्त नभएको र सञ्चार क्षेत्रलाई आय आर्जन र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो ।

युवा शक्ति पलायन मुलुकको चुनौती भएको बताउँदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउँदै त्यसका लागि अमेरिकासँग सहकार्य हुनसक्ने उहाँले बताउनुभयो।