• ८ साउन २०८१, मङ्गलबार

‘मौसमजन्य रोगबाट बालबालिकालाई यसरी जोगाऔँ’

blog

काठमाडौँ, साउन ८ गते । बालबालिकालाई बेलाबेलामा विभिन्न सङ्क्रमणजन्य रोगले सताउने चिकित्सकको भनाइ छ । आनन्दवन अस्पतालका बालरोग विशेषज्ञ डा. कालेबकुमार बुढाले वर्षायामको मौसममा बान्ता हुने, झाडापखाला लाग्ने, पेट दुख्ने लगायतका समस्या लिएर बालबालिका अस्पताल पुग्ने बताउनुहुन्छ । 

त्यसका अलावा यो मौसममा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्नेजस्ता स्वास्थ्य समस्या निम्तने गर्दछन् । उहाँका अनुसार यो मौसममा बालबालिकालाई किटजन्य समस्याका साथै छाला चिलाउने, एलर्जी हुने जस्ता छालासम्बन्धी समस्या देखिने उहाँ बताउनुहुन्छ । फोहोर, दूषित पानीको कारणले गर्दा यो मौसममा यस्तो समस्या देखिने उहाँको भनाइ छ ।  

उहाँ भन्नुहुन्छ, “दूषित पानीले बालबालिकाको पाचन प्रणालीमा असर गरी झाडापखाला, बान्ता, पेट दुख्ने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने गर्दछन् । दूषित पानीमा हेपाटाइटिसका कीटाणु हुने हुँदा यो मौसममा हेपाटाइटिसको जोखिम बढ्छ ।”

केही वर्षदेखि बालबालिकामा सरुवा रोगका साथसाथै नसर्ने रोगको प्रकोप बढ्दै गएको उहाँको तर्क छ । उहाँका अनुसार पत्रु खानेकुरा, मैदाजन्य खानेकुराले बालबालिकामा कब्जियत लगायतका दिसाजन्य समस्या, पेट दुख्नेजस्ता समस्या देखा पर्न थालेका छन् ।  

दूषित पानीले बालबालिकाको पाचन प्रणालीमा असर गरी झाडापखाला, बान्ता, पेट दुख्ने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने गर्दछन् ।

धुलो धुवाँका कारणले गर्दा बालबालिकामा दम लगायतका श्वासप्रश्वासका समस्या देखिने उहाँको भनाइ छ । मोबाइल लगायतका विद्युतीय उपकरणको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारसम्बन्धी समस्या जस्तै: ढिलो बोल्ने, ध्यान केन्द्रित बनाउन नसक्ने, निराश हुने, सुत्न नसक्ने, अरू बच्चासँग घुलमिल हुन नसक्ने समस्या बालबालिकामा बढ्दै गएको उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार भर्खर जन्मिएका बालबालिकालाई ज्वरो आउने, दुध खान नसक्ने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या निम्तने गर्छ । त्यस्तै, अलि ठुलो बच्चाहरूमा खोकी लाग्ने, ज्वरो आउने, झाडापखालाको समस्या देखिने गर्छ । विद्यालय जाने उमेरका बालबालिकालाई पेट दुख्ने, कब्जियत हुने, दिसा क्लियर नहुने, खाना मन नलाग्ने, ध्यान केन्द्रित हुन नसक्ने, चकचक गर्ने जस्ता समस्या निम्तने उहाँ बताउनुहुन्छ ।  

बालबालिका बढ्दै गएपछि व्यवहारिक  समस्या जस्तै: बाबाआमासँग विचार नमिल्ने, आमाबुबाको कुरा नसुन्ने, रिसाउने, तोडफोड गर्ने जस्ता समस्या देखिने उहाँको भनाइ छ । बालबालिकामा सबैभन्दा बढी ज्वरो आउने, पेट दुख्ने लगायतका समस्या लिएर आउने उहाँ बताउनुहुन्छ । 

बालबालिकामा सङ्क्रमणजन्य रोगबाट बचाउन सरसफाइमा ध्यान दिन उहाँको सुझाव छ । त्यस्तै दीर्घ स्वास्थ्य समस्याबाट बचाउन बालबालिकालाई घरमा नै बनाएको पोसिलो खानेकुरा खुवाउनुका साथै शारीरिक कसरत गराउन उहाँको आग्रह छ । त्यस्तै व्यवहारसम्बन्धी समस्या हुन नदिन जतिसक्दो धेरै बालबालिकासँग समय बिताउन उहाँले सुझाव दिनुभयो । उहाँ भन्नुहुन्छ, “बालबालिकालाई व्यावहारिक समस्या समाधान गर्न बाहिरी वातावरणमा खेल्न पठाउने, आमाबाबु पनि उनीहरूलाई मन पर्ने खेल खेल्ने गर्नुपर्छ ।” 

बालबालिकामा देखिने स्वास्थ्य समस्या र समाधानका उपायका विषयमा केन्द्रित भई आनन्दवन अस्पतालका बालरोग विशेषज्ञ डा. कालेबकुमार बुढासँग गरिएको भिडियो संवाद :


भिडियोमा : केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।