• ६ साउन २०८१, आइतबार

शिक्षाको खस्किँदो नतिजालाई सुधार गर्नुपर्नेमा जोड

blog

सार्वजनिक सुनुवाइमा नतिजा सुधारमा जोड दिनुहुँदै शिक्षक विनोद ढकाल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, साउन ६ गते । 
पछिल्लो समयमा खस्किँदै गएको शिक्षाको नतिजा सुधार गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

शिक्षा क्षेत्रको नतिजा खस्किँदै गएकोमा यसलाई सुधार गर्नका लागि ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा सहभागीहरूले जोड दिएका हुन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ खडकोटमा रहेको देउराली माध्यमिक विद्यालयका शिक्षक विनोद ढकालले एसइईको नतिजाले पनि शिक्षाको गुणस्तर खस्किएको बताउँदै समयमै सुधारका लागि योजना बनाउनुपर्ने बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा ढकालले शिक्षा शाखा र पालिकाले शिक्षामा आमूल परिवर्तन गर्ने गरी योजना बनाउन आग्रह गर्नुभयो । उहाँले आफू पनि शिक्षक भएको नाताले शिक्षकहरू पनि सुधारिन आवश्यक रहेकाले पालिकाले ठोस योजना बनाएर कार्यान्वयन गर्नका लागि सुझाव दिनुभयो ।

यस्तै, जयखानी आधारभूत विद्यालयका लेखापाल प्रेमबहादुर श्रीसले गाउँपालिका अनुदानमा रहनुभएका शिक्षकको राजीनामा आएको लामो समयसम्म पनि शिक्षकको पदपूर्ति हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । राजीनामा पत्र पालिकामा पठाए पनि पालिकाले पदपूर्ति नगर्दा पठनपाठनमा समस्या आएको उहाँको भनाइ छ । शिक्षा क्षेत्रको नतिजा सुधारमा सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीले नतिजा कमजोर भएको स्वीकार गर्नुभयो । शिक्षा क्षेत्रको नतिजा सुधार गर्नका लागि  के गर्दा राम्रो हुन्छ भन्ने सुझाव समेत पेस गर्न विद्यालयका प्रधानाध्यापक र सरोकारवालालाई आग्रह गर्नुभएको छ । प्राप्त सुझावहरूको आधारमा शिक्षा क्षेत्रको सुधारका लागि समग्ररुपमा योजना बनाउने उहाँको दाबी छ । शिक्षा क्षेत्रको सुधारका लागि सबैको साथ र सहयोग समेत आवश्यक रहने उहाँको भनाइ छ । शिक्षक पदपूर्तिको विषयमा भने जतिसक्दो छिटो गर्ने पराजुलीले बताउनुभयो ।

विद्यालय सञ्चालन भएपश्चात् शिक्षक, विद्यार्थी र अभिभावकबिच शिक्षाको सुधारका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने शिक्षा शाखाले जनाएको छ ।

गत एसइईमा पालिकाबाट २१८ जना विद्यार्थीहरू सहभागी भएकोमा २९ जना मात्र उत्तीर्ण भएका थिए । सबैभन्दा बढी ३ दशमलव ६ जिपिए ल्याउने एक जना विद्यार्थी रहेका छन् ।

पालिका भित्र सामुदायिक विद्यालय ४२, संस्थागत दुई र धार्मिक एक गरी ४५ विद्यालय रहेका छन् भने करिब ३६०० विद्यार्थी रहेको शिक्षा शाखाले जनाएको छ ।