• ६ साउन २०८१, आइतबार

९९ वन्यजन्तुको उद्धार

blog

गजेन्द्र गुरुङ
खजुरा, साउन ६ गते ।
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष ०८०/०८१ मा जिल्लाका विभिन्न स्थानबाट विभिन्न प्रजातिका ९९ वटा वन्यजन्तुको उद्धार गरेको छ ।

घाइते, टुहुरा, बाटो बिरा गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ९९ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले जानकारी दिनुभयो । रोकाका अनुसार सबै वन्यजन्तु जीवितै उद्धार गरिएको हो ।

जिल्लाका विभिन्न स्थानबाट सर्प, गोहोरो, अजिङ्गर, बाँदर, मगर गोही, जरायो, चित्तल, निर बिरालो, डगर गिद्ध र निलगाईलगायतका वन्यजन्तुको उद्धार गरिएको सूचना अधिकारी रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्प ६३ वटा, गोहोरो पाँच वटा, अजिङ्गर १३ वटा, बाँदर तीन वटा, मगर गोही एउटा, जरायो एउटा, चित्तल आठ वटा, निर बिरालो तीन वटा, डगर गिद्ध एउटा र निलगाई एउटा उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये निलगाईको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

उद्धार गरिएका वन्यजन्तुहरुलाई बाँकेका विभिन्न राष्ट्रिय तथा सामुदायिक वनहरुमा पुनस्र्थापना गरिएको उहाँले बताउनुभयो । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।

घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर औषधी उपचारपश्चात् पूर्णरुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसहरुको बढी चलहपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु जस्ता विभिन्न कारणले गर्दा वन्यजन्तुहरु आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका र त्यस्ता वन्यजन्तुलाई उद्धार गरिँदै आएको सूचना अधिकारी रोकाको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० मा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको थियो । त्यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६÷७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिनुभयो ।