• ५ साउन २०८१, शनिबार

आमा सुरक्षा कार्यक्रम बन्द हुँदा सुत्केरी–शिशु सेवाबाट वञ्चित

blog

तानसेनस्थित लुम्बिनी मेडिकल कलेज । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, साउन ५ गते ।
 लुम्बिनी मेडिकल कलेजमा सञ्चालन भएको आमा सुरक्षा कार्यक्रम बन्द भएको छ । सरकारको मापदण्ड अनुसार तोकिएको रकम नपाएको भन्दै लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनले २०८१ असार मसान्तदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नगरेको हो । यसबाट अस्पतालमा सेवा लिन आएका सुत्केरी महिला र शिशु पाँच दिनदेखि सेवाबाट वञ्चित भएका छन् ।

अस्पतालले सुत्केरी महिलालाई तोकेअनुसारको सेवा दिए पनि सरकारले दिने अनुदान रकम नदिएको भन्दै कलेजले सुत्केरी महिला तथा महिलाबाट जन्मेका शिशुलाई निःशुल्क सेवा दिन नसकेको कलेजका सचिव कृष्णप्रसाद पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले सेवा दिँदै आएका थियौँ, तर तानसेन नगरपालिकाले रकम दिन नसक्ने भनेपछि सेवा बन्द गर्न बाध्य भएको छौँ ।’’

नेपाल सरकारले यो कार्यक्रमका लागि चालु आव २०८०/०८१ मा तानसेन नगरपालिकालाई एक करोड तीन लाख ८७ हजार रकम विनियोजन गरेको थियो । चालु आव २०८१/०८२ मा जम्मा ३८ लाख मात्र रकम आएको तानसेन नगरपालिकाले जनाएको छ । चालु आवमा आएको रकम अघिल्लो वर्षको भुक्तानी दिन पनि नपुग्ने तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सरकारले रकम कम पठाउँदा सेवा स्थगित गर्न बाध्य भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो । सेवाग्राही धेरै भएकाले रकम नपुग भएको उहाँले बताउनुभयो ।

थप रकम माग गरेपनि सरकारले भुक्तानी गर्न नसकेको उहाँको भनाइ छ । पाल्पामा आमा सुरक्षा कार्यक्रममार्फत पाल्पासहित गुल्मी, अर्घाखाँची, पर्वतलगायतका जिल्लाका सेवाग्राहीले निःशुल्क सेवा लिँदै आएका थिए । उक्त सेवा दिएबापत सरकारले मेडिकल कलेजलाई भुक्तानी दिँदै आएको थियो ।

यो कार्यक्रमबाट सुत्केरी महिलाले अस्पतालबाट यातायात खर्च र गर्भजाँचवापतको खर्च पाएका थिए । यस्तै अस्पतालबाट आमा र बच्चाले सामान्यदेखि जटिल सेवा पाएका थिए । यी सेवा दिएबापत अस्पतालले सरकारले ताकेको मापदण्ड अनुसार आमा सुरक्षा कार्यक्रमबाट रकम पाउँदै आएका थिए ।

पाल्पाको सरकारी अस्पतालमा सुत्केरी महिलाका लागि सेवा प्रभावकारी नहुँदा आमा सुरक्षा कार्यक्रम लुम्बिनी मेडिकल कलेजले सञ्चालन गर्दै आएको थियो । कार्यक्रम बन्द भएपछि विपन्न समुदायका सुत्केरी तथा शिशु सहुलियत सेवाबाट वञ्चित हुनुपरेको छ । यसबाट पाल्पासहित अन्य जिल्लाका सुत्केरी महिला सेवाबाट वञ्चित भएको उनीहरूले बताएका छन् ।