• ५ साउन २०८१, शनिबार

ट्राफिक सक्रियता बढेसँगै राजस्व सङ्कलनमा वृद्धि

blog

दुर्घटना न्यूनीकरणका लागि ग्रामीण भेगमा चल्ने सवारी साधनको चेकिङ गर्दै ट्राफिक प्रहरी । तस्बिरः गणेश पौडेल

गणेश पौडेल
पर्वत, साउन ५ गते । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिताराम ओझाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ट्राफिक कारबाहीमा एक करोड एक लाख १७ हजार राजस्व सङ्कलन गरेको हो ।

ओझाका अनुसार यो हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष २०७९/०८० मा करिब ९४ लाख ५१ हजार रुपियाँ सङ्कलन गरेको थियो । प्रहरी नायब निरीक्षक ओझाका अनुसार एक वर्षको अवधिमा कुल १२ हजार दुई सय ६५ वटा सवारीहरूमाथि गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको हो ।

कारबाही भएका नौ सय ३८ वटा ट्रक/ट्रिपरबाट ६ लाख ३९ हजार, छ सय ९३ वटा बसबाट चार लाख ८१ हजार पाँच सय, छ हजार सात सय ३२ वटा कार तथा जिपबाट ५८ लाख ४० हजार पाँच सय सङ्कलन गरिएको छ ।

यस्तै, चार सय ७६ वटा ट्याक्टरबाट तीन लाख ३३ हजार पाँच सय, तीन हजार तीन सय ५२ वटा मोटरसाइकलबाट २७ लाख ७४ हजार पाँच सय र ७४ वटा अन्य सवारी साधनबाट ४८ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

ट्राफिक प्रहरी प्रमुख ओझाले पछिल्लो समय नियमित राजमार्ग चेकिङ, छड्के चेकिङ तथा ग्रामीण सडकमा हुने चेकिङ्का कारण पनि राजस्व सङ्कलनमा वृद्धि भएको साथै सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुगेको बताउनुभयो ।

ट्राफिक प्रहरीको उपस्थिति रहेको ठाउँमा पुग्दा सवारी चालकहरूले ट्राफिक नियमको पालना गर्ने भए पनि प्रहरीको दृष्टिबाट उम्किएपछि नियम उल्लङ्घन गर्ने गरेको पाइएपछि पर्वत ट्राफिकले ग्रामीण क्षेत्रमा समेत चेकिङ बढाएको थियो । 

ट्राफिक प्रहरी नभएको स्थानहरूमा चालक तथा यात्रुहरूको लापरबाही गर्ने, ट्राफिक शिक्षाको कमी, सवारी चालक अनुमति पत्र प्राप्त नगरेकाहरूले पनि सवारी चलाउने जस्ता कार्यहरू निरुत्साहित गर्ने गरी ट्राफिक प्रहरी खटिएको उहाँको भनाइ छ । यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाई सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, छतमा तथा झुन्डिएर यात्रा गर्ने लगायतका लापरबाही नियन्त्रण भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोरको पर्वत खण्ड तथा ग्रामीण सडकहरू समेत स्तरोन्नति हुँदा सवारी साधनको चाप समेत बढेको छ । सवारी साधनको चाप बढेसँगै चेकिङ र राजस्व समेत बढेर गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका हवल्दार वैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले यस आवमा २२ सय ७४ जना विद्यार्थी, ११ सय पाँच जना व्यावसायिक तथा चालक, १४ सय ६ जना सर्वसाधारणलाई ट्राफिक जनचेतनाका कार्यक्रम सञ्चालन गरेको छ ।